काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार १८.०७ अंकले बढेको छ। बजार बढेसँगै नेप्से परिसूचक २ हजार ५६० अंकमा पुगेको छ। योसँगै सेयर बजार लगातार चौथो कारोबार दिन हरियो अंकमा बन्द भएको हो। अघिल्लो कारोबार दिन नेप्से ४.६६ अंकले बढेको थियो।
सोमबार बजारमा उतारचढाव भने सामान्य रह्यो। दिनभर नेप्से न्यूनतम २ हजार ५४२ अंकदेखि अधिकतम २ हजार ५६५ अंकसम्म पुगेको थियो। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो।
सोमबार १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो।
निर्जीवन बीमा समूहमा उच्च वृद्धि
सोमबार निर्जीवन बिमा समूह सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ। भदौ १० गते आएको बाढीपछि यस समूहका कम्पनीको सेयर मूल्यमा ठूलो असर परेको थियो। पछिल्लो समय मूल्य केही घटिसकेकाले सोमबार यस समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो।
यसैगरी बैंकिङ समूह १.१५ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, होटल तथा पर्यटन ०.३१ प्रतिशत, जलविद्युत ०.५१ प्रतिशत, लगानी ०.०४ प्रतिशत, जीवन बिमा ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२४ प्रतिशत, लघुवित्त ०.६१ प्रतिशत र अन्य समूह ०.५० प्रतिशतले बढेका छन्।
यता व्यापार समूह ०.०९ प्रतिशत तथा वित्त समूह ०.४३ प्रतिशतले घटेका छन्।
पियोर इनर्जीको सेयरमा १५ प्रतिशत वृद्धि
सोमबार पियोर इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। गणपति लघुवित्तको ७.३५ प्रतिशत, श्रीनगर एग्रिटेकको ६.२६ प्रतिशत, कालिका लघुवित्तको ६.२२ प्रतिशत, सागर डिस्टिलरीको ६.२० प्रतिशत, रावा इनर्जीको ५.३२ प्रतिशत, शिखर इन्स्योरेन्सको ५.२४ प्रतिशत तथा एसवाई प्यानलको ४.९२ प्रतिशतले सेयर मूल्य बढेको छ।
यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई मुक्तिनाथ विकास बैंकले प्राप्ति गर्ने समझदारी भएपछि यी कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो।
त्यस्तै अपर लोहोरेखोलाको १३.३३ प्रतिशत तथा आशा लघुवित्तको ७.३९ प्रतिशतले सेयर मूल्य घटेको छ।
यी कम्पनीमा भयो धेरै कारोबार
सोमबार धेरै कारोबार हुने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, गरिमा विकास बैंक, सोलु हाइड्रोपावर, एसवाई प्यानल, सुपरमादी हाइड्रोपावर, शिवम् सिमेन्ट, रिडी पावर, नबिल बैंक र सिद्धार्थ बैंक रहेका छन्।