• Menu

सेयर बजार घट्यो, विकास बैंक र निर्जीवन बिमाबाहेक सबै समूह राताम्मे

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १५:४०

सेयर बजार घट्यो, विकास बैंक र निर्जीवन बिमाबाहेक सबै समूह राताम्मे

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३० अंकले घटेको छ । अघिल्लो कारोबार दिन १९.१३ अंकले घटेको बजार मंगलबार पनि ओरालो लाग्दै २ हजार ५९४.०० अंकमा झरेको हो ।

सेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार कुल ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

कारोबारमा आएका समूहमध्ये विकास बैंक र निर्जीवन बिमा समूह मात्रै बढेका छन् । विकास बैंक समूह ०.०८ प्रतिशत र निर्जीवन बिमा समूह ०.३६ प्रतिशतले बढेको छ।

बाँकी सबै समूह घटेका छन् । बैंकिङ समूह ०.०३ प्रतिशत, वित्त ०.९१ प्रतिशत, होटल तथा पर्यटन ०.७१ प्रतिशत, जलविद्युत ०.४२ प्रतिशत, लगानी ०.०८ प्रतिशत, जीवन बिमा ०.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत, लघुवित्त ०.२७ प्रतिशत, अन्य ०.१८ प्रतिशत र व्यापार समूह ०.५७ प्रतिशतले घटेको छ।

समूहगत कारोबारमा जलविद्युत क्षेत्र सबैभन्दा अगाडि रह्यो । मंगलबार कुल कारोबारको ६०.६६ प्रतिशत अर्थात् करिब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार जलविद्युत कम्पनीमा भएको छ ।

त्यस्तै, वाणिज्य बैंक समूहमा ३२ करोड रुपैयाँ र उत्पादन तथा प्रशोधन समूहमा ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १४.९५ प्रतिशत, नाडेप लघुवित्तको ६ प्रतिशत, एभरेस्ट कलरको ५.७१ प्रतिशत र कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य ५.५६ प्रतिशतले बढेको छ।

त्यस्तै, धौलागिरि लघुवित्तको सेयर मूल्य १०.०७ प्रतिशतले घटेको छ। उन्नति सहकार्य लघुवित्तको ४.२३ प्रतिशत र रिजलाइन इनर्जीको सेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ ।

रकमका आधारमा मंगलबार धेरै कारोबार हुने कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत कम्पनी र चन्द्रागिरि हिल्स रहेका छन् ।

लगातार दोस्रो दिन नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ । बजारमा बिक्री चाप कायम रहँदा जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण भने उच्च देखिएको छ ।