
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.०५ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब २८ करोड ७० लाख रुपैयाँ कमाएको थियो ।
समीक्षा अवधिमा ब्याज आम्दानी घटे पनि कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) बापत छुट्याउनुपर्ने रकम घटेका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।
वितरणयोग्य नाफा
बैंकको वितरणयोग्य मुनाफामा भने गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा वितरणयोग्य मुनाफा ३२.७८ प्रतिशत घटेर ५२ करोड ३१ लाख रुपैयाँमा झरेको छ । प्रति सेयर वितरणयोग्य मुनाफा पनि ५.२७ रुपैयाँबाट घटेर ३.३७ रुपैयाँ कायम भएको छ ।
ब्याज आम्दानी र सञ्चालन मुनाफा
बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १.९० प्रतिशत घटेर ६ अर्ब २९ करोड रुपैयाँ छ । यस्तै इम्पेयरमेन्ट चार्ज पनि २ अर्ब ६८ करोडबाट घटेर ८२ करोड ९३ लाखमा झरेको छ । सञ्चालन मुनाफा भने ८१.२६ प्रतिशत बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
निक्षेप संकलन र कर्जा प्रवाह
एक वर्षमा बैंकको निक्षेप संकलन ९.५७ प्रतिशत बढेर २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । निक्षेपको तुलनामा कर्जा प्रवाह वृद्धि भने कम छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कर्जा प्रवाह ०.७६ प्रतिशत बढेर १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
अन्य वित्तीय सूचक
नाफासँगै बैंकको प्रति सेयर आम्दानी पनि बढेको छ । २०८२ असार मसान्तमा ८ रुपैयाँ १ पैसा रहको प्रति सेयर आम्दानी २०८३ असार मसान्तसम्म बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ ।
यस्तै बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.५५ गुणा, प्रति सेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा, प्रतिसेयर कुल सम्पत्ति मूल्य १ हजार ७३२ रुपैयाँ ६२ पैसा छ । निष्क्रिय कर्जा ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ ।
पुँजी र जगेडा कोष
बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँ छ । यस्तै सञ्चित आम्दानी र जगेडा कोषमा कुल ९ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ सञ्चित छ ।
विश्लेषण र आगामी योजना
खुद ब्याज आम्दानीमा कमी तथा कर्मचारी खर्च, परिशोधन तथा ह्रास खर्च र गैर सञ्चालन खर्चमा वृद्धि भएता पनि खुद शुल्क तथा कमिसन आम्दानी, खुद व्यापारिक आम्दानी, अन्य सञ्चालन आम्दानी र गैर सञ्चालन आम्दानीमा वृद्धि र अन्य सञ्चालन खर्चमा कमी, तथा कर्जा नोक्सानी व्यवस्थामा भएको कमीका कारणले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफामा वृद्धि देखिएको विश्लेषण बैंकले गरेको छ ।
व्यवसाय विविधिकरण तथा गुणस्तरीय सेवा प्रदान गर्नेे उद्देश्य तथा स्थानीय तहका दुर्गम क्षेत्रमा खोलिएका शाखाका साथसाथै शाखा रहित बैंकिङ, विस्तारित काउन्टर र डिजिटल सेवा सुविधाका माध्यमबाट ग्रामिण क्षेत्रमा बैंकिङ पहुँच वृद्धि गर्दै लैजाने योजना बैंकको छ । यस्तै, ग्राहकमुखी नयाँ सेवा तथा सुविधामा आवश्यकता अनुसार वृद्धि गर्ने र ग्राहक सेवा सुविधा अझ चुस्त दुरुस्त र स्तरीय बनाउँदै लगिने योजना रहेको बैंकले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal