काठमाडौं । फुटवेयर उद्योगमा दक्ष स्वदेशी जनशक्ति उत्पादन, रोजगारी विस्तार र सिप विकासलाई प्रभावकारी बनाउने विषयमा युवा तथा रोजगारमन्त्री रामजी यादव र फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका पदाधिकारीबीच छलफल भएको छ ।
रोजगार समन्वय तथा सिप विकास शाखाको निमन्त्रणामा बुधबार भएको छलफलमा कार्यस्थलमा आधारित तालिम निर्देशिका संशोधन, सिप विकासमा लागत साझेदारी, रोजगारी सिर्जना, प्रतिक्षार्थीको भत्ता, सामाजिक सुरक्षा तथा दीर्घकालीन श्रम बजार विकासका विषयमा विमर्श गरिएको हो ।
छलफलका क्रममा एसोसिएसनका अध्यक्ष सुरज बन्जाडेले फुटवेयर क्षेत्रमा हाल करिब ५० हजार रोजगारी सिर्जना भए पनि झन्डै आधा जनशक्ति छिमेकी मुलुकबाट पूर्ति भइरहेको जानकारी दिए । सिप र उत्पादनलाई जोडेर स्वदेशमै दक्ष जनशक्ति तयार गर्न सके विदेशी कामदारको निर्भरता घटाउन सकिने उनको भनाइ थियो । हस्तकलामा आधारित जुत्ता उद्योगको निर्यात सम्भावना उच्च भएकाले यस क्षेत्रमा सिप विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
महासचिव निर्मल भट्टराईले उद्यमशीलतामुखी नीति विना सक्षम श्रम बजार निर्माण सम्भव नहुने उल्लेख गर्दै श्रम बजारको वास्तविक अवस्था अध्ययन गरी उद्योग र रोजगारीलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने धारणा राखे । आवश्यकताअनुसार श्रम ऐनमा समयानुकूल सुधार गर्नुपर्ने सुझाव पनि उनले दिए ।
उपमहासचिव सुदीप बरालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय सीप परीक्षण निकायको सहयोगमा तयार भएका फुटवेयरसम्बन्धी पाठ्यक्रमलाई रोजगारसँग प्रत्यक्ष जोड्नुपर्ने आवश्यकता औंल्याए । कार्यस्थलमा आधारित तालिम कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्न निर्देशिका संशोधन गरी सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।
छलफलको समापन गर्दै मन्त्री रामजी यादवले विभिन्न उद्योगको आवश्यकता अनुसार निर्देशिकामा छुट्टै अनुसूची समावेश गर्न सकिने बताए । उनले तालिमार्थीको सुरक्षाका लागि गैर-जीवन बीमाको व्यवस्था गर्नुपर्ने, कामदार व्यवस्थापनमा क्याम्पिङ मोडेल अपनाउनुपर्ने तथा दिगो रोजगारी प्रणाली विकासमा जोड दिन निर्देशन दिए ।
मन्त्री यादवले सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई उत्पादनमूलक सिपसँग जोड्ने, अभिमुखीकरण र तालिममार्फत रोजगारीका अवसर सिर्जना गर्ने विषयमा समेत गम्भीर छलफल भएको जानकारी दिए ।