काठमाडौं । लगातार चौथो कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ। बिहीबार नेप्से १६.२९ अंकले घटेर २६७२ अंकमा कायम भएको हो।
यससँगै साताको सुरुदेखि नै निरन्तर घटिरहेको बजारमा चार कारोबार दिनमै नेप्से ६२ अंकले घटेको छ। गत शुक्रबार परिसूचक २७३४ अंकमा रहेको थियो।
कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ।
आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । सबै समूहगत परिसूचक राताम्मे भएका छन्। विकास बैंक र जलविद्युत समूहमा सबैभन्दा बढी, एक प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
समूहगत रूपमा बैंकिङ ०.३३ प्रतिशत, विकास बैंक १.१२, वित्त ०.१३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् १.२०, लगानी ०.५५, जीवन बिमा ०.४२, उत्पादन तथा प्रशोधन ०.६७, लघुवित्त ०.४७, निर्जीवन बिमा ०.१९, अन्य ०.६९ तथा व्यापार समूह ०.४२ प्रतिशतले घटेका छन्।
बिहीबार एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढ्दै प्रतिकित्ता १,१३८ रुपैयाँ पुगेको छ। सेन्ट्रल फाइनान्स, शुभम् पावर र तारागाउँ रिजेन्सीको सेयर मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।
यता कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र रिजलाइन इनर्जीको सेयरमा पनि उल्लेखनीय गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् र सेन्ट्रल फाइनान्स सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा परेका छन् ।