
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घट्दै २७०१ अंकमा झरेको छ। अघिल्लो कारोबार दिन ७.९० अंकले बढेको बजार सोमबार भने कारोबारको अन्तिम समयसम्म लगातार ओरालो लागेको हो।
कारोबार सुरु भएपछि बजार एक समय २७४४ अंकसम्म पुगे पनि त्यसपछि बिक्री दबाब बढ्दा परिसूचकमा तीव्र गिरावट आएको हो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आज ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो। उपसमूहतर्फ बैंकिङ समूह ०.१० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी २.३० प्रतिशतले घटेको छ। व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत, बिमा, लघुवित्त, लगानी र अन्य अधिकांश उपसमूह पनि ओरालो लागेका छन्।
हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यसैगरी गोर्खाज फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य पनि तीन प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १३.३८ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, कालंगा हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इनको सेयर मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स सबैभन्दा बढी कारोबार भएका कम्पनी बनेका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal