काठमाडौं । प्रतिष्ठित व्यवसायी तथा वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले फिलिपिन्सका लागि नेपालका अवैतनिक वाणिज्यदूत रहेका वैद्यलाई सर्वसम्मत रूपमा नयाँ डीन चयन गरेको हो । यसअघि बुल्गेरियाका लागि नेपालस्थित अवैतनिक वाणिज्यदूत भोला थापा डीन थिए । सभाले पासाङ दावा शेर्पालाई भाइस डीनमा चयन गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्यले आफ्नो कार्यकालमा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई थप सुदृढ बनाउने कार्यलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन् ।
डीनको जिम्मेवारी सम्हालेपछि जारी गरेको वक्तव्यमा उनले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तारका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वैद्यका अनुसार एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको छ । ती राष्ट्रहरूसँगको सम्बन्धलाई उपयोग गर्दै नेपालमा गुणस्तरीय विदेशी लगानी आकर्षित गर्ने, व्यापार र पर्यटन विस्तार गर्ने, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच बढाउने लक्ष्य संस्थाले लिएको छ ।
उनले नेपालले लगानी, रोजगारी, पर्यटन र व्यापार विस्तारलाई प्राथमिकतामा राखेको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्व अझ बढेको उल्लेख गर्दै मानार्थ वाणिज्यदूतहरूले सरकार, निजी क्षेत्र, लगानीकर्ता, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय समुदायबीच सहकार्यको सेतुका रूपमा काम गर्ने बताए ।
उनका अनुसार एचसीसीएनले नेपाल सरकार, सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय र निजी क्षेत्रसँग सहकार्य गर्दै सदस्य राष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउनेछ । यसबाट विदेशी लगानी, पर्यटन, व्यापार, प्रविधि हस्तान्तरण तथा शैक्षिक–सांस्कृतिक आदानप्रदानलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
वैद्यले सरकार, निजी क्षेत्र, कूटनीतिक समुदाय र नागरिक समाजबीचको सहकार्य नै नेपालको दिगो विकासको आधार भएको उल्लेख गर्दै एचसीसीएन आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल र अनुभवलाई नेपालको दीर्घकालीन विकास र विश्वव्यापी अवसरसँग जोड्न प्रतिबद्ध रहेको बताए ।
उनले आफूलाई डीनको जिम्मेवारी सुम्पिएकोमा एचसीसीएनका सदस्यहरूप्रति आभार व्यक्त गर्दै संस्थाको नेतृत्वलाई यहाँसम्म पुर्याउन योगदान दिएका निवर्तमान डीन तथा पूर्व नेतृत्वप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् ।