
काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८३ आगामी भदौ १८ गते आयोजना हुने भएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मञ्चले नेपाल पुलिस क्लबको सभाहलमा अवार्ड समारोह गर्ने घोषणा गरेको हो ।
यसै अवसरमा अवार्डका लागि गोल्छा समूहसँग मुख्य प्रायोजन सम्झौता पनि गरिएको छ। सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन्। गोल्छा समूहसँग पाँच वर्षका लागि भएको सम्झौताको यो दोस्रो वर्ष हो। गोल्छा समूह लगातार १९औँ पटक अवार्डसँग जोडिएको छ ।
गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकुदको स्तरवृद्धिमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई प्रोत्साहन गर्न अवार्डसँग निरन्तर सहकार्य गर्दै आएको बताए। मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपालको खेलकुद विकासमा निजी क्षेत्रको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै गोल्छा समूहलाई धन्यवाद व्यक्त गरे ।
मञ्चका महासचिव अञ्जन खड्काका अनुसार यस वर्ष ९ विधामा अवार्ड प्रदान गरिनेछ। तीमध्ये वर्षका उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, विशेष अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड समावेश छन् ।
उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक तथा पिपुल्स च्वाइस विधाका मनोनयन केही दिनभित्र सार्वजनिक गरिनेछ। प्रत्येक विधामा पाँच–पाँच जना मनोनयनमा पर्ने व्यवस्था गरिएको मञ्चले जनाएको छ। लाइफटाइम अचिभमेन्ट, विशेष अवार्ड, पारा एथलिट सम्मान तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेताको घोषणा अवार्ड समारोहकै दिन गरिनेछ ।
वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक तथा पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन अध्यक्ष निरञ्जन अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। साथै कार्यक्रम सञ्चालनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको मञ्चले जनाएको छ ।
गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए। पिपुल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।
त्यस्तै विशेष अवार्डबाट तेक्वान्दोका तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङ्देम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन तथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal