• Menu

विद्युत प्राधिकरणले करेन्ट लागेर दुवै हात गुमाएका बालकलाई उपचार खर्च र १५ लाखभन्दा बढी क्षतिपूर्ति दिने

नेपाल प्रफिट

२०८३ साउन ७, ११:५६

विद्युत प्राधिकरणले करेन्ट लागेर दुवै हात गुमाएका बालकलाई उपचार खर्च र १५ लाखभन्दा बढी क्षतिपूर्ति दिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका-२ घुसेनीमा ११ केभी विद्युत प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित १५ लाख ७१ हजार २५० क्षतिपूर्ति प्रदान गर्ने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको हालैको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो ।

प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका-२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा सो दुर्घटना भएको थियो ।

उक्त रकम सुस्ता पूर्व वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजिरहरुका आधार पीडित बालकको परिवारलाई सहयोग गरिएको बताएका छन् ।

साथै मन्त्री श्रेष्ठले प्राधिकरणलाई आफ्ना संरचनाको नियमित रुपमा मर्मत गर्ने, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, सुरक्षा सतर्कता बढाउने र नागरिकलाई पूर्वसूचनाको व्यवस्था गर्न निर्देशन दिएका छन् ।