• Menu

नेपालगन्जमा ४ लाख भारतीय रुपैयाँसहित होटल कर्मचारी पक्राउ

नेपाल प्रफिट

२०८३ साउन ७, ११:०६

नेपालगन्जमा ४ लाख भारतीय रुपैयाँसहित होटल कर्मचारी पक्राउ

बाँके। प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगन्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ ।

बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले बसपार्क क्षेत्रमा अवैध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा ८०० थान भारतीय ५०० का नोटसहित राउतलाई पक्राउ गरी हिरासतमा लिइएको बताए । ‘लुकाएर राखेको अवस्थामा हामीले ती नोट फेला पारेका हौँ,’  प्रहरी उपरीक्षक जिसीले भने । भारतीय ५०० का नोट नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाइएको प्रहरीको भनाइ छ ।

उनले बसपार्कका होटेलबाट अवैध काम धेरै हुने गरेको गुनासो आएको उल्लेख गर्दै रावतमाथि नेपाल राष्ट्र बैंकको दफाबमोजिम कारबाही हुने जानकारी दिए ।

न्यू लक्ष्मी होटेल एण्ड लजका सञ्चालक धर्मराज बस्नेतले जाजरकोटाबाट आएका ६ जना ठेकेदारको जिम्मामा रहेका करिब ५० जना श्रमिकलाई भारतीय रुपैयाँ आवश्यक परेकाले रकम संकलन गरी सटहीका लागि कर्मचारी राउतलाई  पठाइएको जिकिर गरे ।