
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।
मन्त्रालयले शाखा अधिकृत तारादत्त भट्टलाई यसअघि नै रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेको भए पनि सो निर्णय कार्यान्वयन नभएकाले निमित्त प्रमुखलाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी खारेज गरिएको जनाएको छ।
मन्त्रालयले गाउँपालिकालाई खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टलाई तत्काल हाजिर गराई नियमित प्रशासनिक तथा वित्तीय कामकाज सञ्चालन गर्न निर्देशन दिएको छ।
साथै, कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निमित्त प्रमुख जगतबहादुर रावलको आर्थिक अधिकार रद्द गरिएको जानकारी गराउँदै अबदेखि गाउँपालिकाको बैंक खाता तथा आर्थिक कारोबार मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टमार्फत मात्रै सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई समेत आग्रह गरेको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal