
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएका उद्योग मन्त्रालयअन्तर्गतका सुधार कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय सक्रिय रूपमा जुटेको बताएकी छन्।
बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित बजेट कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्री यादवले मन्त्रालयको जिम्मेवारीमा रहेका कानुनी तथा नीतिगत सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिइन्।
उनले उद्योग मन्त्रालयसँग सम्बन्धित आठ वटा सुधारका कार्यक्रम बजेटमा समावेश रहेको उल्लेख गर्दै केही योजनाको कार्यान्वयन सुरु भइसकेको र बाँकी कार्यक्रम पनि चरणबद्ध रूपमा अघि बढाइने बताइन्।
मन्त्री यादवले बजेटमा घोषणा गरिएका सुधार योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयसँग प्राविधिक सहयोग र निरन्तर समन्वय आवश्यक रहेको धारणा राखिन्। मन्त्रालयको जिम्मेवारीभित्र पर्ने काम समयमै सम्पन्न गर्न दुवै मन्त्रालयबीच सहकार्यलाई थप मजबुत बनाइने उनको भनाइ थियो।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग मन्त्रालयअन्तर्गत रहेका नीतिगत तथा कानुनी सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्दै आवश्यक विज्ञ, स्रोत-साधन र प्राविधिक सहयोग उपलब्ध गराउन अर्थ मन्त्रालय तयार रहेको बताए।
चालु आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कम्पनी ऐन संशोधन, दामासाहीसम्बन्धी ऐन परिमार्जन, उधारो असुलीसम्बन्धी ऐन तथा बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन निर्माणलगायत आठ वटा प्रमुख कानुनी तथा नीतिगत सुधारका कार्यक्रम समावेश छन्।
अर्थ मन्त्रालयले बजेटमा उल्लेख भएका कार्यक्रमको कार्यान्वयन नियमित रूपमा अनुगमन गर्दै सम्बन्धित मन्त्रालयसँग प्रगति समीक्षा गर्ने व्यवस्था समेत अघि बढाएको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal