
काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै यस्तो कदमले विश्व व्यापारमा तनाव बढाउने चेतावनी दिएको छ।
अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ व्यवस्थाअनुसार आयात हुने वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म शुल्क लगाइएको छ। चीनमाथि सबैभन्दा बढी १२.५ प्रतिशत शुल्क लागू गरिएको छ। अमेरिकी प्रशासनले जबरजस्ती श्रममार्फत उत्पादन गरिएका वस्तुसम्बन्धी चिन्ताका आधारमा यो निर्णय गरिएको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा एकपक्षीय शुल्क नीति स्वीकार्य नभएको स्पष्ट पार्दै व्यापार युद्ध वा शुल्क युद्धबाट कुनै पनि पक्षलाई लाभ नहुने बताए। उनले यस्ता कदमले अन्तर्राष्ट्रिय सहकार्य कमजोर पार्ने र द्वन्द्व बढाउने चेतावनी दिए।
उता अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न अमेरिका लामो समयदेखि प्रतिबद्ध रहेको उल्लेख गर्दै अन्य व्यापारिक साझेदारले पनि समान स्तरको प्रतिबद्धता देखाउनुपर्ने समय आएको बताएका छन्।
यो नयाँ शुल्क व्यवस्था राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि लागू गरेको अस्थायी विश्वव्यापी आयात शुल्कको स्थानमा ल्याइएको हो। फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिको केही शुल्कसम्बन्धी अधिकार सीमित गरेपछि नयाँ कानुनी आधारमा संशोधित नीति लागू गरिएको अमेरिकी प्रशासनको भनाइ छ।
नयाँ व्यवस्थाअनुसार क्यानाडा, युरोपेली संघ (ईयू) र बेलायतजस्ता जबरजस्ती श्रमसम्बन्धी प्रतिबन्ध लागू गरेका मुलुकमाथि १० प्रतिशत शुल्क लगाइएको छ भने चीन, भारत, जापानलगायतका प्रमुख व्यापारिक साझेदारमाथि १२.५ प्रतिशतसम्म शुल्क तोकिएको छ।
गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटपछि दुई देशबीचको व्यापारिक तनाव केही कम भएको थियो। यस वर्ष ट्रम्पको बेइजिङ भ्रमणपछि शुल्क घटाउने संकेत देखिए पनि पछिल्लो अमेरिकी निर्णयले अमेरिका-चीन व्यापार सम्बन्ध फेरि तनावपूर्ण बन्ने सम्भावना बढाएको विश्लेषण गरिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal