• Menu

१४ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६७ करोडको कारोबार

नेपाल प्रफिट

२०८३ साउन ७, १५:४९

१४ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १४.१७ अंकले बढेर २७२६.०० अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन १३.९५ अंकले ओरालो लागेको बजारले आज पुनः सुधारको लय समातेको हो ।

आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ५ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

समूहगत सूचकमध्ये व्यापार समूह २.५८ प्रतिशत बढेको छ । जलविद्युत १.१२ प्रतिशत, होटल तथा पर्यटन ०.९९ प्रतिशत, विकास बैंक ०.७४ प्रतिशत, निर्जीवन बिमा ०.६४ प्रतिशत, लगानी बैंकिङ ०.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशत, जीवन बिमा ०.२९ प्रतिशत, वित्त ०.२७ प्रतिशत तथा लघुवित्त ०.१३ प्रतिशतले बढे । अन्य र लगानी समूह भने क्रमशः ०.०८ र ०.४२ प्रतिशतले घटे।

व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले उकालो लाग्दै अग्रस्थानमा रह्यो । त्यसपछि स्नो रिभर्स १३.७१ प्रतिशत, एपोलो हाइड्रोपावर ९.२५ प्रतिशत, होटल फरेस्ट इन ७.५१ प्रतिशत र सोपान फर्मास्युटिकल्स ७.४७ प्रतिशतले वृद्धि हासिल गरे ।

यता कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घट्यो। कम्पनीको संस्थापक, स्थानीय र कर्मचारी समूहअन्तर्गतको १२ लाख ९ हजार १६९ कित्ता सेयरको लकइन अवधि समाप्त भएसँगै बिक्री चाप बढ्दा मूल्यमा गिरावट आएको हो। बुंगल हाइड्रोपावर ९.९३ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्स ४.४८ प्रतिशतले पनि मूल्य गुमाए ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष पाँच कम्पनीमा परेका छन् ।