
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालका रैथाने तथा मौलिक उत्पादनको संरक्षण, प्रवर्धन र ब्रान्डिङका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन ल्याइने बताएकी छन् ।
उद्योग मन्त्रालयमा खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री यादवले जीआईसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।
भेटमा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने, ब्रान्डिङ गर्ने र दीर्घकालीन संरक्षण गर्ने विषयमा छलफल भएको थियो। साथै, जीआईको अन्तर्राष्ट्रिय अभ्यास र यसको महत्त्वबारे पनि विचार आदानप्रदान गरिएको थियो ।
एफएओका नेपाल प्रतिनिधि जुले विश्वका अधिकांश देश तथा एसियाका झण्डै सबै राष्ट्रमा जीआई प्रणाली लागू भइसके पनि नेपालमा अझै कार्यान्वयन हुन नसकेको उल्लेख गरे। उनले नेपाली रैथाने उत्पादनको जीआई दर्ता नहुँदा बहुमूल्य नेपाली ब्रान्ड अन्य देशले दर्ता गर्ने अवस्था सिर्जना भएको भन्दै यसलाई रोक्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताए ।
जवाफमा मन्त्री यादवले नेपालको मौलिक उत्पादनको संरक्षण र प्रवर्धन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै जीआईसम्बन्धी कानुन निर्माणका लागि कानुन मन्त्रालयसँग समन्वय गरी छिट्टै विधेयक तयार पारेर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal