
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्धन, सीप विकास तथा उद्योग-शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ गर्ने उद्देश्यले पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामार्फत दुवै संस्थाले शिक्षा, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वयात्मक वातावरण निर्माण गर्दै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता अभिवृद्धि तथा संस्थागत उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौताअनुसार विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तन प्रवर्धन, लगानी प्रोत्साहन, रणनीतिक सञ्जालीकरण, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान र भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासमा संयुक्त रूपमा काम गरिनेछ ।
नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रम सञ्चालनमा सहभागिता बढाउने तथा व्यावसायिक वातावरणसँग सम्बन्धित कार्यक्रममा सहकार्य गर्नेछ । साथै बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नसिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहजीकरण गर्ने, अनुसन्धान कोष तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र उद्योग जगत्का अनुभवी व्यवसायिक नेतृत्वलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयसँग जोड्ने व्यवस्था पनि सम्झौतामा गरिएको छ ।
त्यसैगरी बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने तथा उद्योग-शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने जनाएको छ। विश्वविद्यालयले सेमिनार, नीतिसंवाद तथा सम्मेलन आयोजना गर्नेसमेत प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले विश्वविद्यालयहरू परम्परागत शिक्षाभन्दा बाहिर निस्केर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताए । उनले विश्वविद्यालयको उद्देश्य रोजगारी खोज्ने जनशक्ति उत्पादनमा मात्र सीमित नभई रोजगारी सिर्जना गर्ने उद्यमी तथा नेतृत्वकर्ता तयार गर्नु हुनुपर्नेमा जोड दिए ।
‘आजको विश्वमा ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आवश्यक छ,’ उनले भने ।
अग्रवालले उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्ता सहकार्य महत्वपूर्ण हुने बताउँदै विश्वविद्यालयबाट उत्पादित जनशक्ति बजारको वास्तविक आवश्यकताअनुसार दक्ष बन्नुपर्ने धारणा राखे ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. पौडेलले शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यावहारिक रूपमा जोड्ने अवधारणाअनुसार विश्वविद्यालय अघि बढिरहेको बताए । नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्न, अनुसन्धानलाई व्यावहारिक बनाउन तथा स्टार्टअप र नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने उनले बताए ।
सम्झौतापत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ । दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal