• Menu

स्थिर नीति र पूर्वाधारबिना नेपालको मोबिलिटी क्षेत्र अघि बढ्न सक्दैन : नाइमा अध्यक्ष वैद्य

नेपाल प्रफिट

२०८३ साउन २६, मंगलबार १५:२४

स्थिर नीति र पूर्वाधारबिना नेपालको मोबिलिटी क्षेत्र अघि बढ्न सक्दैन : नाइमा अध्यक्ष वैद्य

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको मोबिलिटी क्षेत्रको विकासका लागि स्थिर सरकारी नीति, आधुनिक पूर्वाधार र सरकार–निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताएकी छन् ।

नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै वैद्यले एक्स्पोलाई सवारीसाधन किनबेचको थलो मात्र नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने अवसरका रूपमा लिनुपर्ने बताइन् । पटक–पटक परिवर्तन हुने नीतिले व्यवसायी र लगानीकर्तामा अनिश्चितता बढाएको भन्दै उनले निजी क्षेत्रसँग पर्याप्त छलफल गरेर मात्रै नीतिगत परिवर्तन गर्न सरकारलाई आग्रह गरिन् ।

वैद्यले प्रविधिमा तीव्र परिवर्तन भइरहेकाले सवारीसाधनको कर प्रणाली, वर्गीकरण र नियमनलाई पनि समयअनुकूल बनाउनुपर्ने बताइन् । नेपालमा सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम, भरपर्दो चार्जिङ पूर्वाधार, आधुनिक सवारी परीक्षण केन्द्र र दक्ष प्राविधिक जनशक्तिको आवश्यकता रहेको उनको भनाइ छ ।

यातायातलाई राजस्व संकलनको माध्यम वा विलासिताको वस्तुका रूपमा मात्र नहेरी उत्पादन, व्यापार, पर्यटन र रोजगारीसँग जोडिएको राष्ट्रिय विकासको आधारका रूपमा लिनुपर्ने उनले बताइन् ।