
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सडक तथा पूर्वाधार, ग्यास आपूर्ति, रोजगारी, स्वास्थ्य, शिक्षा, सुशासन, विपद् व्यवस्थापन र सामाजिक न्यायलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरूले ग्यासको सहज आपूर्ति तथा कालोबजारी नियन्त्रण, रोजगारी सिर्जना, वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण, आर्थिक वृद्धि, विपद् व्यवस्थापन तथा पुनःनिर्माण, भूमिहीनको समस्या, सामाजिक विभेद अन्त्य, दूरसञ्चार सेवा विस्तार र अपराध नियन्त्रणका विषय उठाएका हुन् ।
उनीहरूले युवा जनशक्तिको सदुपयोग गर्न, अलपत्र आयोजनालाई अघि बढाउन तथा सार्वजनिक यातायातलाई व्यवस्थित गरी यात्रुलाई सहज सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गरे। अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा प्रवाह गर्न, रेलमार्ग निर्माणका क्रममा रोकिएको मुआब्जा उपलब्ध गराउन तथा बुढीगण्डकी र महाकाली जलविद्युत आयोजनाको कामलाई तीव्रता दिनसमेत सांसदहरूले माग गरे ।
कर्णाली क्षेत्रको सडक पूर्वाधार विकासलाई प्राथमिकता दिन, कर्णालीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गरी जनमुखी ढंगले काम गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको मृत्युबारे छानबिन गर्न, ‘आइभिएफ’सम्बन्धी कानुन निर्माण गर्न तथा मधेसी र थारू समुदायमाथि हुने विभेद अन्त्य गर्न माग गरिएको छ। चिकित्सक पलायन रोक्न सरकारी र निजी अस्पतालमा पारिश्रमिकको समान मापदण्ड बनाउन तथा सबै निर्वाचन क्षेत्रमा समानुपातिक ढंगले बजेट विनियोजन गर्न पनि सांसदहरूले आग्रह गरे ।
सांसदहरूले वन्यजन्तुबाट हुने आतंक, डुबान तथा जाजरकोट भूकम्पपछिको पुनःनिर्माणको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। चन्द्रागिरिको बौद्धस्तूपका लागि बजेट व्यवस्था गर्न र रोजगारीका अवसर सिर्जना गर्नसमेत माग गरिएको छ ।
वैदेशिक रोजगार तथा विद्यार्थी भिसाका नाममा हुने ठगी नियन्त्रण, विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान, भूमिहीनलाई जग्गा उपलब्ध गराउने तथा नलगाडलगायत गुणस्तरीय दूरसञ्चार सेवा नपुगेका क्षेत्रमा सेवा विस्तार गर्न सांसदहरूले माग गरे। हेलो सरकारको प्रभावकारिता बढाउन तथा अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका मागलाई प्राथमिकताका साथ सम्बोधन गर्न पनि उनीहरूले आग्रह गरे ।
यसैगरी, सुनसरी घटनाको निष्पक्ष छानबिन, भक्तपुरस्थित सुधारगृहमा भएको हत्या प्रकरणको अनुसन्धान तथा सुधारगृहको सुरक्षा व्यवस्था सुदृढ गर्न माग गरिएको छ। सिंहदरबारमा आम नागरिकको पहुँच सहज बनाउन, मधेस प्रदेशमा सर्पदंश उपचारका लागि पर्याप्त प्रतिविषको व्यवस्था गर्न तथा सर्वसुलभ रूपमा ग्यास उपलब्ध गराउन पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरूले सुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै जनमुखी नीति तथा कार्यक्रममार्फत सरकारको कामकारबाही नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी अघि बढाउनसमेत आग्रह गरेका छन् ।
शून्य समयमा डा. अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, अभिषेकप्रताप शाह, अफसना बानु, अरविन्द साह, अर्जुननरसिंह केसी, आकृति अवस्थी, आरेन राई, आशिष गजुरेल, इन्दिरा रानामगर, एलिजा गुरुङ, यशोदाकुमारी बराल, ओजस्वी शेरचन, अङ्किता ठाकुर, कमल सुवेदी, करिश्मा कठरिया, कामिनी कुमारी, कालीबहादुर सहकारी, कुलभक्त शाक्य, कुसुम महर्जन र कोमल ज्ञवालीलगायतका सांसदले धारणा राखेका थिए ।
त्यस्तै, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खड्कबहादुर बुढा, खड्ग शाही, खुस्बु ओली, खेमराज कोइराला, गणेश कार्की, गणेश धिमाल, गणेश पौडेल, खिमा विक, गणेश विक, गणेशसिंह ठगुन्ना, गीता गुरुङ, गीताकुमारी सेन्दाङ, गोविन्द पन्थी, गङ्गा छन्त्याल, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, चन्दनकुमार सिंह र चन्देश्वर मण्डललगायतका सांसदले आफ्ना निर्वाचन क्षेत्रका समस्या तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal