
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीलाई थप लगानी विस्तार गर्न आग्रह गरेका छन् । अर्थमन्त्रीको आग्रहपछि विभिन्न बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले नेपालमा करिब २ खर्ब रुपैयाँ थप लगानी गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी गराएका छन्।
सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योग तथा व्यवसाय विस्तार गर्न र थप रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरे ।
उनले नेपालमा ठूलो लगानी गर्न, सञ्चालनमा रहेका उद्योग विस्तार गर्न तथा नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्न आग्रह गर्दै सरकारले लगानीको वातावरण निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
छलफलमा सहभागी कम्पनीका प्रतिनिधिले जलविद्युत, खाद्य, होटल, पेय पदार्थ, रंग तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारको तयारी भइरहेको जानकारी गराएका थिए। उनीहरूले सरकारबाट थप नीतिगत स्थिरता र लगानीमैत्री वातावरण सुनिश्चित भए नेपालमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
कम्पनी प्रतिनिधिहरूले नयाँ सरकारले ल्याएको बजेटले विदेशी तथा बहुराष्ट्रिय लगानीकर्ताको मनोबल बढाएको उल्लेख गर्दै केही नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।
उनीहरूका अनुसार उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, कर तथा भन्सार प्रशासनका काममा सुधार देखिए पनि लगानी विस्तारका लागि थप सहजीकरण आवश्यक छ। विशेषगरी माउ कम्पनीबाट नेपालमा पुँजी भित्र्याउने प्रक्रियालाई सहज बनाउनुपर्ने उनीहरूको माग थियो।
बहुराष्ट्रिय कम्पनीहरूले आर्थिक तथा फौजदारी अपराधको स्पष्ट व्याख्या, आयकर ऐनको दफा ५७ मा संशोधन तथा श्रमसम्बन्धी कानुनमा आवश्यक परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन्। यस्तै, कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर कायम गर्न, नेपालमै उपलब्ध कच्चा पदार्थ प्राप्तिमा सहजीकरण गर्न तथा मूल्य नियन्त्रणसम्बन्धी समस्या समाधान गर्न आग्रह गरिएको छ।
जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था सहज बनाउन, स्थानीय तहअनुसार फरक-फरक कर निर्धारणको समस्या हटाउन तथा औद्योगिक क्षेत्रमा आवश्यक आधारभूत सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन पनि उनीहरूले सुझाव दिएका छन् ।
दोहोरो करको समस्या समाधान गर्न तथा नेपालमा गरिएको लगानीबाट प्राप्त प्रतिफल विदेश लैजाने प्रक्रिया सहज बनाउन पनि कम्पनी प्रतिनिधिहरूले अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।
छलफलमा सूर्य नेपाल, एनसेल, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्ट्स, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर पेन्ट्सलगायतका कम्पनीका नेपाल प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन र अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्र तथा सरोकारवालासँग छलफललाई निरन्तरता दिएका छन् । यसअघि उनले उत्पादनमूलक उद्योगका उद्योगी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अर्थतन्त्रको विकास र लगानी विस्तारका विषयमा छलफल गरेका थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal