
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकका अनुसार उक्त सहयोग नवजात शिशु तथा बालबालिकाका लागि सघन उपचार सेवा सुदृढीकरणमा उपयोग गरिनेछ। विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनका लागि सहयोग रकम प्रयोग गरिने जनाइएको छ।
नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो। केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु र बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
बढ्दो बिरामीको चाप तथा सघन उपचार सेवाको आवश्यकता सम्बोधन गर्न सहयोग गरिएको बैंकले जनाएको छ। बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वासका साथ आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न योगदान गर्दै आएको उल्लेख गरेको छ।
बैंकका अनुसार सहयोगबाट नवजात शिशु तथा बालबालिकाको उपचारको गुणस्तर अभिवृद्धि, जीवनरक्षा दरमा सुधार तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटिएम, ४० शाखारहित बैंकिङ एकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal