• Menu

डोङफेङका दुई मोडलका बस नेपाल भित्रिँदै : नाईमा अटो एक्स्पोमा सार्वजनिक गरिने

नेपाल प्रफिट

२०८३ साउन २४, १८:१०

डोङफेङका दुई मोडलका बस नेपाल भित्रिँदै : नाईमा अटो एक्स्पोमा सार्वजनिक गरिने

काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित सवारी उत्पादक डोङफेङले उत्पादन गरेका बस नेपालमा सार्वजनिक गर्ने भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना हुने नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक गरिनेछन्। निकट भविष्यमा डोङफेङका ३८ र ५२ सिट क्षमताका ९ तथा १२ मिटर लम्बाइका बससमेत नेपाल ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

बसको मूल्य तथा विस्तृत प्राविधिक विवरण एक्स्पोमै सार्वजनिक गरिने बताइएको छ। कम्पनीले एक्स्पोमा सार्वजनिक हुने बस नेपालमा हाल उपलब्ध अन्य कम्पनीका समान प्रकृतिका बसको तुलनामा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने जनाएको छ। एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिने पनि कम्पनीले जानकारी दिएको छ।

डोङफेङ मोटर कर्पोरेसन चीनका प्रमुख सवारी उत्पादक कम्पनीमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी र विशेष प्रयोजनका सवारी उत्पादन गर्दै आएको छ।

कम्पनीका उत्पादन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व तथा दक्षिण अमेरिकालगायत विभिन्न क्षेत्रमा बिक्री तथा सञ्चालनमा रहेका छन्। डोङफेङका उत्पादन विश्वका एक सयभन्दा बढी देशमा निर्यात हुँदै आएको कम्पनीले जनाएको छ। नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस बिक्री हुँदै आएका छन्।

हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी समूहअन्तर्गतको म्याक्ससका सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएका छन्।

नेपालमा ठूला विद्युतीय बसको माग बढ्दै गएको तथा सरकारले पनि विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिन थालेको अवस्थामा डोङफेङका बस नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ।

बसको बिक्रीपछिको सेवा तथा आवश्यक स्पेयर पार्ट्स हिमालयन अर्गनाइजेसनअन्तर्गतका कम्पनीका नेपालभर रहेका शाखा तथा आधिकारिक डिलरमार्फत उपलब्ध गराइने जनाइएको छ।