
बाँके । कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत शाह, श्रीमती शुभेच्क्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्तमाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान हुनेछ । पक्राउ परेका तीनै जनालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरिएको, नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्यांकन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको भनी अनुसन्धान अघि बढाइएको थियो ।
यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा तीन अर्ब २० करोडभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ । हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार छन् । अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायतका व्यक्ति पनि रहेका छन् ।
बैंकको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो ।
उक्त घटनाले बैंकिङ क्षेत्रको आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको जनाइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal