
काठमाडौं । नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यबारे उच्चस्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीच भएको बैठकमा आगामी चार वर्षका लागि खोप सहयोग, सह-वित्तीय लगानी तथा कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल भएको हो ।
छलफलका क्रममा गाभीले नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार नेपालले भने १ करोड ७१ लाख अमेरिकी डलर सह–वित्तीय लगानी गर्नुपर्ने विषयमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल र गाभीबीचको सहकार्य सन् २००१ देखि जारी छ । पछिल्लो २५ वर्षमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको खोप, कोल्ड चेन पूर्वाधार विकास तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग प्रदान गरेको छ ।
हाल राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत प्रयोग हुने ११ प्रकारका खोपमध्ये पाँच प्रकारका खोपमा गाभीले सह-लगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । परिवार कल्याण महाशाखामार्फत सञ्चालन हुने नियमित खोप कार्यक्रम तथा विभिन्न खोप अभियानमा पनि गाभीको निरन्तर सहयोग रहेको मन्त्रालयले जनाएको छ ।
बैठकमा विश्वव्यापी रूपमा विकास सहायता र वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दीर्घकालीन रूपमा कसरी दिगो बनाउने भन्ने विषयमा पनि विस्तृत छलफल भएको थियो ।
गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रमको नेतृत्व र नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal