• Menu

बार निर्वाचन समितिलाई उम्मेदवार शुल्क तोक्ने कानुनी अधिकार छ : सर्वोच्च अदालत

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १६:०४

बार निर्वाचन समितिलाई उम्मेदवार शुल्क तोक्ने कानुनी अधिकार छ : सर्वोच्च अदालत

काठमाडौं । नेपाल बार एसोसिएनको निर्वाचनमा उम्मेदवारले बुझाउनपर्ने शुल्कसम्बन्धी विवादको विषय निरुपण भएको छ ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बारको निर्वाचन समितिलाइ निर्वाचन शुल्क निर्धारण गर्न पाउने कानुनी हक भएको ठहर गरेपछि त्यससम्बन्धी विवाद अन्त्य भएको हो ।

आदेशमा भनिएको छ, ‘नेपाल बार एसोसिएसनको विनियम, २०४९ मा उम्मेदवारका लागि निर्वाचन समितिले उपयुक्त सम्झेको शुल्क तोक्ने अधिकार रहेको र यसअघि सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त पनि रहेको छ ।’

अदालतले बार एसोसिएसन राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम स्थापित भएको संस्था रहेकाले आफ्नो काम कारबाही अगाडि बढाउन विधान २०४८ ले प्रष्ट रुपमा उल्लेख गरेको जनाएको छ ।

स्वतन्त्र कानुन व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईसमेतले नेपाल बारलाई विपक्षी बनाई बारको निर्वाचन शुल्क धेरै भएको भएको जनाउँदै त्यसलाई बदर गरी पाउँ भनी रिट निवेदन दायर गरेका थिए ।