
सांसद इन्दिरा रानामगरले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अन्त्य गर्दै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन सरकारसँग आग्रह गरिन्।
सांसद प्रेमलाल चौधरीले इलाम प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै जिल्लामा स्तरीय अस्पतालको अभावका कारण बाढी-पहिरोका बेला बिरामीले समयमै उपचार नपाउने अवस्था रहेको बताए। उनले इलामको मयुखोलामा स्थायी पुल निर्माण गर्न पनि सरकारसँग माग गरे।
सांसद टीका सङ्ग्रौलाले आर्यघाटमा विपन्न नागरिकलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्नुपर्ने बताए भने सांसद बदनकुमार भण्डारीले काभ्रेपलाञ्चोकमा सुनकोशी नदीमा हाम फालेका दम्पतीको खोज तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरे।
तराईमा बाढी र डुबानको समस्या, डोल्पा–चीन व्यापार, बाँदरका कारण कृषि क्षेत्रमा भएको क्षति, पाकिस्तानमा पर्वतारोहणका क्रममा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउने पहल, पहिरो नियन्त्रण, सामाजिक सञ्जालमार्फत हुने मानसिक हिंसा नियन्त्रण, सर्पदंश उपचार व्यवस्थापन तथा नदी कटान नियन्त्रणलगायत विषयमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
यस्तै, कर्णालीसहित विभिन्न क्षेत्रमा मनसुनका कारण जनजीवन प्रभावित भएको उल्लेख गर्दै सांसदहरूले विपद् पूर्वतयारी, जोखिम व्यवस्थापन तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक योजना तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal