• Menu

कङ्गोमा इबोला संक्रमण भयावह, संक्रमित चार हजार नाघ्दा १८ सयभन्दा बढीको मृत्यु

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १५:४८

कङ्गोमा इबोला संक्रमण भयावह, संक्रमित चार हजार नाघ्दा १८ सयभन्दा बढीको मृत्यु

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। हालसम्म चार हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ भने एक हजार ८५० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको यो प्रकोप विश्व इतिहासकै दोस्रो ठूलो इबोला महामारी मानिएको छ। सन् १९७६ मा पहिलो पटक इबोला भाइरस पहिचान भएपछि कङ्गोले सामना गरेको यो सबैभन्दा ठूलो प्रकोप भएको बताइएको छ।

हाल इटुरी, उत्तर किभु, दक्षिण किभु, हाउट-उले र सोपो प्रान्तका ५३ स्वास्थ्य क्षेत्रमा संक्रमण फैलिएको छ। पुष्टि भएका कुल संक्रमितमध्ये करिब ८७ प्रतिशत इटुरी प्रान्तमा मात्रै रहेका छन्।

अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसी) का महानिर्देशक जिन कासेयाले वास्तविक संक्रमित र मृत्युको संख्या सार्वजनिक तथ्यांकभन्दा बढी हुन सक्ने बताएका छन्। भाइरसमा कुनै उत्परिवर्तन भएको छ वा अन्य कारणले संक्रमण तीव्र बनेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिने पनि उनले जानकारी दिएका छन्।

उनका अनुसार प्रकोप नियन्त्रणमा वित्तीय स्रोतको अभावसँगै प्रभावित समुदायलाई प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु पनि ठूलो चुनौती बनेको छ। उनले संक्रमितको शीघ्र पहिचान, परीक्षण, उपचारमा सहज पहुँच तथा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई समयमै सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले पनि प्रकोप नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।

खोप र उपचारको खोजी जारी

बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन। यद्यपि अधिकारीहरूले जाइर इबोला भाइरसविरुद्ध विकसित एर्भेबो खोपको सम्भावित प्रभावबारे अध्ययन विस्तार गरेका छन्।

यसैबीच, अक्सफोर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्युट अफ इन्डियाले विकास गरेको नयाँ खोप बेलायतमा पहिलो चरणको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको छ। मोडर्नाले विकास गरेको अर्को खोप पनि क्यानाडामा प्रारम्भिक परीक्षणमा लैजाने तयारी भइरहेको छ।

डब्लुएचओले खोप मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रभावकारी निगरानी, प्रयोगशाला परीक्षण, संक्रमण रोकथाम, सुरक्षित उपचार र समुदायको सक्रिय सहभागितामार्फत मात्रै प्रकोप नियन्त्रण सम्भव हुने जनाएको छ।