• Menu

रूस-युक्रेन युद्धमा लामो दूरीका आक्रमण तीव्र, युक्रेनद्वारा रूसभित्रका तेल प्रशोधन केन्द्रमा ड्रोन प्रहार

नेपाल प्रफिट

२०८३ साउन २१, १७:४२

रूस-युक्रेन युद्धमा लामो दूरीका आक्रमण तीव्र, युक्रेनद्वारा रूसभित्रका तेल प्रशोधन केन्द्रमा ड्रोन प्रहार

एजेन्सी । रूस-युक्रेन युद्धमा दुवै पक्षले लामो दूरीका आक्रमणलाई थप तीव्र बनाएका छन् । युक्रेनले रूसभित्र रहेका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेपछि रूसले युक्रेनको रेल स्टेसन र व्यावसायिक मालवाहक जहाजलाई निशाना बनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रूसको बाश्कोर्तोस्तान र यारोस्लाभ क्षेत्रमा रहेका तेल प्रशोधन केन्द्रमा सफल ड्रोन आक्रमण गरेको जानकारी दिएका छन् । ती क्षेत्र युद्धको अग्रपङ्क्तिबाट क्रमशः करिब एक हजार तीन सय किलोमिटर र सात सय किलोमिटर टाढा रहेका छन्।

जेलेन्स्कीले ऊर्जा पूर्वाधारमाथिको आक्रमणले रूसमाथि युद्ध अन्त्य गरी कूटनीतिक समाधानतर्फ अघि बढ्न दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सार्वजनिक गरेको भिडियोमा आक्रमणपछि तेल प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ उठिरहेको देखिएको छ।

यता रूसको रक्षा मन्त्रालयले रातभर युक्रेनले प्रहार गरेका ६ सय पाँच वटा ड्रोन खसालिएको दाबी गरेको छ । यारोस्लाभ क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा मात्रै ९२ वटा ड्रोन नष्ट गरिएको उल्लेख गर्दै यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण बताएका छन् ।

रूसको ट्भर क्षेत्रमा रहेको प्रमुख विद्युतीय व्यापार कम्पनी ‘वाइल्डबेरीज’को सामग्री व्यवस्थापन केन्द्रमा पनि ड्रोन प्रहार भएको जनाइएको छ। पछिल्लो समय उक्त केन्द्र बारम्बार युक्रेनी आक्रमणको निशानामा पर्दै आएको छ ।

यसैबीच रूसले युक्रेनमाथिको प्रतिआक्रमण पनि तीव्र बनाएको छ । बुधबार राति उत्तरपूर्वी खार्किभ क्षेत्रको लोझोभा रेल स्टेसनमा गरिएको क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

त्यसैगरी कालो सागरमा गहुँ बोकेर गइरहेको युक्रेनी व्यावसायिक मालवाहक जहाजमाथि गरिएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको ओडेसा क्षेत्रका गभर्नरले जानकारी दिएका छन् ।

यसअघि किएभमा भएको रूसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएपछि राष्ट्रपति जेलेन्स्कीले सहयोगी राष्ट्रहरूसँग अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली तत्काल उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

चार वर्षभन्दा बढी समयदेखि जारी रूस-युक्रेन युद्धमा शान्ति वार्ताले अझै गति लिन सकेको छैन । बरु दुवै पक्षले एकअर्काको भित्री क्षेत्रमा ड्रोन, क्षेप्यास्त्र र मिसाइल आक्रमण बढाउँदै लगेका छन्, जसका कारण सर्वसाधारणको जनधनको क्षति निरन्तर बढिरहेको छ ।