एजेन्सी । इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिनजिक पुगेका छन्। इरानले प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा दुवै देशबीच सहमति भइसकेको जनाएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईका अनुसार तेस्रो पक्षबाट कुनै अवरोध नभए दुवै देशले संयुक्त वक्तव्यसमेत चाँडै सार्वजनिक गर्नेछन् । उनले ओमानसँगको वार्ता सकारात्मक भए पनि हर्मुज जलघाँटी तत्काल पूर्ण रूपमा सुरक्षित भइसकेको निष्कर्ष निकाल्न नहुने स्पष्ट पारे ।
इरानले हर्मुज क्षेत्रको सुरक्षा जोखिमको प्रमुख कारण अमेरिकाले इरानी बन्दरगाहमाथि कायम राखेको नौसैनिक नाकाबन्दी र इरानविरुद्धका गतिविधिलाई मानेको छ । तेहरानले जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले उक्त नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्याएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि इरानले हर्मुज जलघाँटीमा कडा नियन्त्रण कायम गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान हर्मुज पुनः खोल्ने सहमतिनजिक पुगेको दाबी गरे पनि इरानले वासिङ्टनसँग कुनै प्रत्यक्ष वार्ता नभएको र समाधान ओमानसँगको समन्वयमार्फत खोजिरहेको जनाएको छ ।
यसैबीच, बेलायतको समुद्री सुरक्षा निकाय (यूकेएमटीओ) ले ओमानको कुम्जार क्षेत्रनजिक हर्मुज पार गरिरहेको एक तेल ट्यांकरमा दुईवटा विस्फोटको आवाज सुनिएको जानकारी दिएको छ। यद्यपि घटनामा जहाज वा चालकदललाई कुनै क्षति नभएको बताइएको छ।
उता, यमनका हुथी विद्रोहीले दुई साउदी तेल ट्यांकरमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । उनीहरूका अनुसार उत्तरी लालसागरस्थित यानबु बन्दरगाहनजिक रहेको ‘वाफा’ र एडेनको खाडीमा रहेको ‘डेजी’ ट्यांकरलाई लक्षित गरिएको हो । यस विषयमा साउदी अरबले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात हर्मुज जलघाँटीमार्फत हुने गरेको थियो। त्यसयता यस क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पटक-पटक मूल्यवृद्धि हुँदै आएको छ ।
अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले इरानसँगको कूटनीतिक प्रक्रिया जटिल र समय लाग्ने स्वीकार गर्दै इरानी नेतृत्वभित्रको आन्तरिक विभाजनले वार्तालाई अझ कठिन बनाएको बताएका छन् ।
विश्लेषकहरूका अनुसार इरान हर्मुज जलघाँटीमाथि थप प्रत्यक्ष नियन्त्रण कायम गर्दै शुल्क प्रणाली लागू गर्ने तयारीमा छ भने अमेरिकाले त्यसको कडा विरोध गरिरहेको छ । यद्यपि इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको दाबीलाई पुनः अस्वीकार गरेको छ ।