• Menu

फिफाभित्र विवाद चर्किए पनि अध्यक्ष जियानी इन्फान्टिनोलाई शीर्ष नेतृत्वको पूर्ण साथ

नेपाल प्रफिट

२०८३ साउन २१, १३:३०

फिफाभित्र विवाद चर्किए पनि अध्यक्ष जियानी इन्फान्टिनोलाई शीर्ष नेतृत्वको पूर्ण साथ

एजेन्सी  । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपसँग सम्बन्धित विवादास्पद व्यावसायिक प्रस्तावका कारण चर्किएको विवादबीच अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन दोहोर्‍याएको छ। साथै, उक्त प्रस्तावको प्रक्रिया त्रुटिपूर्ण भएको स्वीकार गर्दै फिफाले सदस्य राष्ट्रसँग औपचारिक रूपमा क्षमायाचना गरेको छ ।

फिफाले जारी गरेको विज्ञप्तिअनुसार मोरक्कोको रबाटमा बसेको संकट बैठकमा महासचिव म्याटियास ग्राफस्ट्रोमसहित व्यवस्थापन बोर्डका सदस्यहरूले अध्यक्ष इन्फान्टिनोप्रति पूर्ण विश्वास व्यक्त गरेका हुन् । बैठकले ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ मार्फत अघि बढाइएको विवादास्पद व्यावसायिक प्रस्ताव प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको स्वीकार गर्दै त्यसलाई पूर्ण रूपमा फिर्ता लिने निर्णय गरेको जनाएको छ ।

फिफाले काउन्सिल तथा सदस्य राष्ट्रहरूलाई पत्र पठाएर प्रक्रियागत कमजोरीप्रति क्षमा माग्दै भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ ।

महासचिव ग्राफस्ट्रोमले यसअघि उक्त योजनालाई ‘दुःखद र निन्दनीय’ भन्दै आफू त्यसबाट अलग रहेको बताएका थिए। तर पछिल्लो बैठकमा उनले अध्यक्ष इन्फान्टिनोप्रति समर्थन व्यक्त गरेको फिफाले जनाएको छ। इन्फान्टिनोले पनि महासचिवप्रति आफ्नो विश्वास कायम रहेको बताएका छन् ।

यद्यपि, फिफाभित्र नेतृत्वले समर्थन जनाए पनि बाह्य दबाब भने बढ्दै गएको छ । प्रिमियर लिग, ला लिगा र सिरी एलगायत युरोपेली फुटबल लिगहरूको संगठनले एफएफई प्रस्तावलाई ‘खतरनाक’ भन्दै फिफाको शासन प्रणाली, निर्णय प्रक्रिया र संस्थागत संस्कृतिमाथि गम्भीर प्रश्न उठाएको छ। साथै, विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने प्रस्तावको समेत विरोध गर्दै सुधार नभएसम्म नयाँ प्रतियोगिता वा विस्तार योजनालाई समर्थन नगर्ने चेतावनी दिएको छ ।

पोर्चुगलका पूर्वकप्तान तथा रियल म्याड्रिडका पूर्वखेलाडी लुइस फिगोले पनि इन्फान्टिनोलाई पदबाट हट्न आग्रह गर्दै उनको नेतृत्वले फिफाको प्रतिष्ठामा क्षति पुगेको टिप्पणी गरेका छन् ।

यसैबीच, सन् २०३० को विश्वकपको फाइनल मोरक्कोमा गराउने आश्वासन इन्फान्टिनोले दिएको भन्ने दाबीलाई फिफाले अस्वीकार गरेको छ। फिफाका प्रवक्ताले फाइनल खेलको आयोजक स्थल नियमित प्रक्रिया पूरा भएपछि मात्रै तय गरिने स्पष्ट पारेका छन् ।

बुधबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि इन्फान्टिनोमाथि पर्याप्त परामर्शबिना गम्भीर शासनगत त्रुटि गरेको आरोप लगाउँदै उनीप्रतिको विश्वास समाप्त भएको बताएका छन् ।

पछिल्ला घटनाक्रमसँगै आगामी मार्चमा हुने फिफा अध्यक्षीय निर्वाचनअघि इन्फान्टिनोमाथिको दबाब थप बढेको छ । युरोपेली फुटबल महासंघ (युइएफए) ले विवादास्पद योजना अघि बढे विश्वकप बहिष्कारसम्म गर्न सकिने चेतावनी दिएको थियो भने उत्तर तथा मध्य अमेरिका तथा क्यारिबियन फुटबल महासंघ (कन्काकाफ) ले पनि फिफा नेतृत्वको प्राथमिकतामाथि प्रश्न उठाएको छ ।

फिफाभित्र पनि असन्तुष्टि देखिएको छ। विश्व फुटबल विकास प्रमुख आर्सेन वेङ्गरले एफएफई योजनाबाट आफूलाई अलग राखेका छन् भने अध्यक्षका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले हालै राजीनामा दिएका छन् । प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले नेतृत्वमा पारदर्शिताको अभावले कर्मचारीहरू निराश भएको टिप्पणी गरेका छन् ।

यद्यपि बढ्दो विवादका बाबजुद इन्फान्टिनो आगामी मार्चमा हुने फिफा अध्यक्षीय निर्वाचनमा चौथो तथा अन्तिम कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा रहेका छन् ।