
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा र लाभांश वितरण क्षमतामा वृद्धि भएको छ ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३४ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब २४ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा नाफामा सकारात्मक प्रभाव परेको हो । बैंकले अघिल्लो वर्ष ३ अर्ब ६१ करोड १२ लाख रुपैयाँ ब्याज आम्दानी गरेकोमा गतवर्ष ५.६४ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ । सञ्चालन मुनाफा पनि १ अर्ब ८० करोड ८६ लाख रुपैयाँबाट बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ ।
ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेको र कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज)बापत गतवर्षभन्दा कम रकम छुट्याउनु पर्दा बैंकको नाफामा वृद्धि भएको हो । बैंकले इम्पेरमेन्ट चार्ज शिर्षकमा ४९ करोड ४ लाख रुपैयाँ व्यवस्था गरेको छ ।
वितरणयोग्य नाफा
बैंकको वितरणयोग्य मुनाफा उच्च वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५९ ९२ लाख १४ हजार ९० रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकसँग अहिले १ अर्ब २१ करोड ७९ लाख ६१ हजार ८ सय २६ रुपैयाँ छ ।
प्रतिसेयर वितरणयोग्य नाफा पनि १० रुपैयाँ ५५ पैसाबाट बढेर २० रुपैयाँ २३ पैसा कायम भएको छ ।
निष्क्रिय कर्जा
बैंकको नाफा बढेको भएपनि निष्क्रिय कर्जा भने केही बढेको छ । निष्क्रिय कर्जा ४.६९ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुगेको छ ।
निष्क्रिय कर्जा बढ्दा बैंकले सम्भावित कर्जा नोक्सानीका लागि भविश्यमा थप रकम छुट्याउनु पर्ने अवस्था आउन सक्छ । त्यसैले, बैंकले कर्जा असुली, खराब कर्जा व्यवस्थापन र नयाँ कर्जाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
प्रति सेयर आम्दानी
बैंकको प्रति सेयर आम्दानीमा पनि सुधार भएको छ । प्रति सेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा कायम भएको छ । यसले बैंकको प्रतिफल क्षमतामा सुधार हुँदै गएको देखाउँछ ।
मूल्य–आम्दानी अनुपात १४.४० गुणा, प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
निक्षेप, कर्जा र चुक्ता पुँजी
२०८३ असार मसान्तसम्म बैंकले ९८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा ९.२७ प्रतिशत र कर्जा प्रवाह १३.१८ प्रतिशत बढेको छ ।
बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ रहेको छ भने सञ्चित नाफा र जगेडा कोषमा गरी कुल ४ अर्ब ६५ कारोड रुपैयाँ सञ्चित रहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal