• Menu

इसेवाद्वारा लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न, सहभागी महिलालाई विशेष सम्मान

नेपाल प्रफिट

२०८३ साउन २४, १७:५९

इसेवाद्वारा लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न, सहभागी महिलालाई विशेष सम्मान

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले महिलालाई सम्मान गर्ने उद्देश्यले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम आयोजना गरेको छ।

श्रावण महिना र तीजको सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै आयोजित कार्यक्रम शनिबार र आइतबार गरी श्रावण २३ र २४ गते सञ्चालन गरिएको थियो। कार्यक्रममा इसेवा प्रयोगकर्ताका साथै सामाजिक सञ्जालमार्फत सहभागी भएका विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी महिलाले श्रावण र तीजको सांस्कृतिक उत्सव साथी-सङ्गीसँग मिलेर मनाउने अवसर पाएका थिए। कार्यक्रममा मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा तस्बिर खिचाउने तथा विभिन्न खेलमा सहभागी भएर आकर्षक पुरस्कार जित्ने अवसरसमेत प्रदान गरिएको थियो।

इसेवाका अनुसार कार्यक्रमले विभिन्न उमेर समूहका महिलालाई एकै ठाउँमा जोड्दै श्रावण र तीजको अवसरलाई उत्साहपूर्ण तथा रमाइलो बनाएको थियो।

‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाले महिनाभर सञ्चालन गरिरहेको ‘#SheIsTheGreenFlag’ अभियानअन्तर्गत आयोजना गरिएको हो। अभियानले आफू मात्र नभई अरूलाई पनि आत्मविश्वास बढाउन, लक्ष्य हासिल गर्न प्रोत्साहित गर्न तथा सकारात्मक प्रभाव पार्न प्रेरित गर्ने महिलालाई सम्मान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

महिलालाई हरेक दिन कदर र सम्मान गर्ने प्रतिबद्धतालाई थप बलियो बनाउँदै कार्यक्रममार्फत सांस्कृतिक परम्परा र सामुदायिक सहभागितालाई एकै ठाउँमा जोडिएको इसेवाले जनाएको छ। कार्यक्रमले श्रावण र तीजको सांस्कृतिक उत्साहलाई नयाँ पुस्तासँग जोड्दै सहभागीका लागि विशेष अनुभव सिर्जना गरेको कम्पनीको भनाइ छ।