
काठमाडौं । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ।
गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रण गर्न काठमाडौं उपत्यकालगायत क्षेत्रमा अनुगमन कडाइ गरिएको हो।
उद्योग मन्त्रालयका अनुसार भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि केही स्थानमा कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्या सिर्जना गर्ने र बढी मूल्यमा बिक्री गर्ने गतिविधिबारे लगातार गुनासो प्राप्त भएपछि अनुगमनलाई प्रभावकारी बनाइएको हो ।
उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले अनुगमनलाई निरन्तरता दिइएको र बजारमा ग्यास आपूर्ति क्रमशः सहज बन्दै गएको जानकारी दिए ।
उनका अनुसार पर्याप्त आपूर्ति हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारीमार्फत उपभोक्तामाथि अतिरिक्त भार पार्ने गतिविधि नियन्त्रणमा लिन विशेष निगरानी बढाइएको छ ।
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास डिपोहरूमा प्रभावकारी अनुगमनका लागि सुरक्षाकर्मी परिचालन गर्न गृहमन्त्री सुधन गुरुङसँग आग्रह गरेका थिए । मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय, निगरानी र सहजीकरणका लागि निर्देशन दिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारले ग्यासको सहज आपूर्ति कायम राख्न, कृत्रिम अभाव अन्त्य गर्न र उपभोक्तालाई ठगीबाट जोगाउन अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal