• Menu

खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएकोप्रति एलपी ग्यास उद्योग संघको गम्भीर ध्यानाकर्षण

नेपाल प्रफिट

२०८३ साउन २४, १५:४०

खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएकोप्रति एलपी ग्यास उद्योग संघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । केही दिनयता एलपी ग्यास आपूर्तिसम्बन्धी विषयलाई काठमाडौं उपत्यका सहित अन्य स्थानबाट आम उपभोक्ताहरूले देखाएको चासोप्रति नेपाल एलपी ग्यास उद्योग संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीहरूबाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको संघले जनाएको छ । सहज रूपमा एलपी ग्यासको आयातसँगै ग्यास उद्योगहरूबाट सिलिन्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेको संघको भनाइ छ ।

यस्तो अवस्थामा ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिन्डरहरू सञ्चय (होल्ड) गर्ने, जोडेर राख्ने वा आवश्यकताभन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको संघले जनाएको छ । यसका कारण ग्यास अति आवश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था सिर्जना भएको संघको भनाइ छ ।

त्यसर्थ उपभोक्ताहरूले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिएको र आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना नरहेको संघले स्पष्ट पारेको छ ।

संघले विक्रेताहरूलाई घरायसी प्रयोकर्ता उपभोक्ताहरूलाई प्राथमिकतामा राखी ग्यास बिक्री वितरण गर्न हार्दिक अनुरोध गरेको छ । साथै उपभोक्ताहरूलाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव लागिपरिरहेको जानकारी गराउँदै संघले आफ्ना सदस्य उद्योगहरू तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरी उपभोक्तासम्म एलपी ग्यासको नियमित र सहज रूपमा आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

त्यसर्थ धैर्य र संयम बनी सहयोग गरिदिन संघले सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गरेको छ ।