
काठमाडौं । खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचनापछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।
ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी थिइन् ।
ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि उपभोक्तालाई समस्यामा पार्ने गरी ग्यास लुकाउने, कृत्रिम अभाव देखाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन् ।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका हुन् । सोही निर्देशनअनुसार आइतबार बिहानैदेखि उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन थालिएको छ ।
प्रहरीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भए-नभएको निगरानी गरिरहेको छ । त्यस्ता गतिविधि भेटिए तत्काल कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ ।
उपत्यकामा भइरहेको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ ।
सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिने तथा कालोबजारी गर्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ । यस्ता गतिविधि नियन्त्रणका लागि बजार अनुगमनलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउने तयारी सरकारको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal