• Menu

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

नेपाल प्रफिट

२०८३ साउन २४, १२:४७

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

बुटवल । तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् ।

६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु-३ स्थित आफ्नै घरबाट निस्किएका थिए । त्यसपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका थिएनन् ।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा भेटिएको थियो ।

सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । खोजीका क्रममा आइतबार जंगल क्षेत्रमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।