
पहिरोमा पुरिएर विद्युत्गृहमा सुरक्षागार्डका रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरका ५५ वर्षीय दीपक बरुवाल (खेमराज)को मृत्यु भएको हो। उनको शव पहिरोले पुरिएको अवस्थामा कार्यस्थलमै भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बिहान करिब ३ः३५ बजे विद्युत्गृहको माथिबाट ढुंगा, माटोसहितको सुक्खा पहिरो खसेको थियो। पहिरोमा पुरिएका बरुवाललाई प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले डोजर प्रयोग गरी करिब एक घण्टाको प्रयासपछि बाहिर निकालेको थियो।
उनको शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।
पहिरो खस्ने क्रममा विद्युत्गृहमा कार्यरत इलेक्ट्रिकल ओभरसियर गौरीगङ्गा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। पहिरो खसेपछि झ्यालबाट हाम फालेर बाहिर निस्कने क्रममा घाइते भएका विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।
सिफ्ट इन्चार्जसमेत रहेका पाल्पाको निस्दी गाउँपालिका-५ का २४ वर्षीय इलेक्ट्रिकल ओभरसियर छविलाल अर्याल भने विद्युत्गृहभित्र थुनिए पनि सकुशल बाहिर निस्कन सफल भएका छन्।
अर्यालका अनुसार कन्ट्रोल रुममा ड्युटी गरिरहेका बेला पहिरो खसेको आवाज आएपछि उनी बाहिर निस्कने क्रममा केही समय विद्युत्गृहभित्रै थुनिएका थिए। बाहिर निस्किएका सुरेन्द्रले साथी र सुरक्षाकर्मीलाई खबर गरेपछि करिब ४ बजे डोरीको सहायताले अर्याललाई समेत उद्धार गरिएको थियो।
पहिरोका कारण विद्युत्गृहका उपकरणमा क्षति पुगेपछि १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। आयोजनाको प्रवर्द्धक म्याग्दी हाइड्रोपावर हो।
विद्युत्गृहभन्दा माथिको पहाड भत्किएर पहिरो खसेको हो। अन्नपूर्ण गाउँपालिका-५ र ६ को सीमाना कुरिलाबगरमा आयोजनाको बाँध रहेको छ। बाँधबाट तीन हजार पाँच सय मिटर लामो सुरुङमार्फत ल्याइएको पानी ४८५ मिटर उचाइबाट एक हजार दुई सय मिटर लामो पेनस्टक पाइप हुँदै विद्युत्गृहमा पुर्याएर विद्युत उत्पादन हुँदै आएको थियो।
आयोजनाको निर्माण २०७४ सालमा सुरु भएको थियो भने विसं २०८० असारदेखि विद्युत् उत्पादन सुरु भएको थियो। सर्वसाधारणका लागि शेयर जारी गर्ने अन्तिम तयारीमा रहेको आयोजनाले प्राकृतिक विपद्का कारण ठूलो क्षति व्यहोर्नुपरेको हो।
प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार आयोजनामा भएको क्षतिको मूल्यांकन सुरु गरिएको छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने बताइएको छ।
सुक्खा पहिरोमा स्थानीय बासिन्दा दीपक बरुवालको मृत्यु भएपछि पोखरेबगर शोकमा डुबेको छ। अन्नपूर्ण गाउँपालिकाका जनस्वास्थ्य अधिकृत समुन्द्र बरुवालले नसोचेको स्थानबाट सुक्खा पहिरो खसेर जनधनको क्षति भएको बताए ।
अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ संघर्ष गरिरहेका वडावासीलाई गुमाउनुपर्दा दुःख लागेको बताए ।
आयोजना र मृतकका परिवारबीच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि शव परीक्षणका लागि अस्पताल पठाइएको जनाइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal