
तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आफ्नै आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित नयाँ बजेट ल्याएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै उनले कमजोर सरकारी आम्दानीका कारण ऋण लिएर दैनिक खर्च धान्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले करको दायरा विस्तार गरी आम्दानी बढाउने नीति लिएको बताए ।
उनले जनताको विकाससम्बन्धी अपेक्षा र मुलुकको आर्थिक सामर्थ्यबीच ठूलो अन्तर रहेको तथा दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगो बन्दै गएको अवस्थामा नेपाल आफैँ आर्थिक रूपमा सक्षम बन्नुपर्ने आवश्यकता औँल्याए ।
अर्थमन्त्री वाग्लेले राज्यको नियमित तथा अत्यावश्यक दायित्व करिब १३ खर्ब ५० अर्ब रहे पनि सरकारको आम्दानी करिब १२ खर्ब ५० अर्ब मात्रै रहेको बताए । यही अवस्था सुधार गर्न करको दायरा फराकिलो बनाउनुका साथै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।
उनले ऋण लिन नपर्ने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने मानसिकताबाट सबै पक्ष माथि उठ्नुपर्ने बताए । करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्ने गुनासो आए पनि सरकारले सर्वसाधारणलाई अनावश्यक करको अन्तिम दायित्वबाट जोगाउने उनले स्पष्ट पारे ।
सरकारले २१ खर्ब २४ अर्बको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै करिब ६६ खर्बको अर्थतन्त्रलाई थप चलायमान बनाउन खोजेको पनि अर्थमन्त्री वाग्लेले बताए ।
उनले आगामी दिनमा प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न सहज हुने वातावरण निर्माणका लागि सरकारले आवश्यक पहल अघि बढाउने जानकारी दिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal