काठमाडौं । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब ७० करोडले कमी आएको जनाएको छ ।
विभागले आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ५९ करोड राजस्व संकलन गरेकामा आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड ४८ लाख मात्र संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विभागको राजस्व संकलन करिब ४४ प्रतिशतले घटेको देखिन्छ ।
विभागका प्रवक्ता एवं उपमहानिर्देशक गणेशनाथ त्रिपाठीका अनुसार खानी खोज तथा उत्खनन अनुमतिपत्र वितरण, इजाजत नवीकरण, भूबहाल, नक्सा तथा प्रतिवेदन शुल्कलगायतबाट विभागले राजस्व संकलन गर्दै आएको छ ।
उनका अनुसार देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले चुनढुंगा, रातोमाटो, धातु, पत्थरलगायत खनिजजन्य वस्तुको उत्खननका लागि विभागले अनुमति प्रदान गर्दै आएको छ ।
स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्ने उद्देश्यले विभागले टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानीका लागि अनुमति दिएको छ ।
विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियमसम्बन्धी आर्थिक अध्ययन तथा प्रवर्घन, धातु तथा अधातु खनिज अन्वेषण, खानी ड्रिलिङ, इन्जिनियरिङ भौगर्भिक अध्ययन र भूकम्प मापनलगायतका काम गर्दै आएको छ ।