काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको बताएका छन् ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको ५०औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा निजी क्षेत्रको लगानी सुरक्षित गर्ने र व्यवसायमैत्री वातावरण निर्माण गर्ने नीति आवश्यक रहेको बताए ।
उनले समग्र माग बढ्न नसकेको, उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ रहेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । आफ्नो ३६ वर्षको व्यावसायिक अनुभवमा उद्योगी व्यवसायीको मनोबल यति कमजोर अवस्थामा कहिल्यै नदेखेको उनको भनाइ थियो ।
‘समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन्। व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘मेरो ३६ वर्षको करिअरको अनुभवले अहिले सबैभन्दा कमजोर अवस्थामा पुगेको ठान्छु।’
अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल बनेको भन्दै उनले सरकारले बजेटमार्फत गरेका प्रतिबद्धता कार्यान्वयनमा समेत कमजोरी देखिएको बताए। अर्थतन्त्रलाई पुनर्संरचना गर्दै उत्पादन र लगानी बढाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले आयात प्रतिस्थापनका लागि नेपालमै उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए। विशेषगरी अटोमोबाइल क्षेत्रमा स्वदेशमै उद्योग खोल्न सके आयातमा निर्भरता घटाउन सकिने उनले बताए ।
केही उद्योग स्थापना भए पनि सरकारले पर्याप्त ध्यान दिन नसक्दा उद्योगी व्यवसायीका समस्या समाधान हुन नसकेको उनको भनाइ छ । उद्योग सञ्चालनका लागि आवश्यक वातावरण निर्माण तथा संरक्षण गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको उनले बताए ।
सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने, आगामी पाँचदेखि सात वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने, एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने तथा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारे पनि त्यसअनुसार रणनीति र कार्यान्वयन हुन नसकेको अध्यक्ष श्रेष्ठले बताए ।
उनले अटोमोबाइल क्षेत्रको ठूलो आर्थिक योगदान रहे पनि राज्यले यस क्षेत्रलाई अझै प्राथमिकतामा राख्न नसकेको गुनासो गरे ।
गत आर्थिक वर्षमा अटोमोबाइल क्षेत्रमा करिब १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको आयात भएको तथ्यांक प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले सोही आयातबाट सरकारले ८१ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको बताए ।
अटोमोबाइल क्षेत्रबाट ठूलो मात्रामा राजस्व संकलन भइरहे पनि राज्यको प्राथमिकतामा यो क्षेत्र स्पष्ट रूपमा नपरेको उनको गुनासो थियो। कुल १२ खर्ब रुपैयाँभन्दा बढी राजस्वमा एक्लै ८१ अर्ब रुपैयाँ योगदान गर्ने क्षेत्रलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने उनले बताए ।
अध्यक्ष श्रेष्ठले बन्द उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति पनि प्रश्न उठाए। दशकौँदेखि बन्द रहेका उद्योग खोल्ने तयारी भइरहँदा सञ्चालनमा रहेका उद्योगको अवस्था कस्तो छ भन्ने विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अटोमोबाइल क्षेत्रमा संलग्न उद्योग तथा व्यवसायीले लामो समयदेखि विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै उनले ती समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले उद्योगी व्यवसायीका समस्या बुझेर समाधानका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद आवश्यक रहेको बताए। उद्योग सञ्चालनका लागि नीतिगत स्थिरता, लगानी सुरक्षा र व्यवसायमैत्री वातावरण निर्माण गर्न सके मात्रै अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।