
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सुडीले २०४६ सालदेखि २०८१ सालसम्म पदीय मर्यादाविपरीत कार्य गरी ३ करोड ७१ लाख ८४ हजार ५५१ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेका छन्। उक्त सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो ।
अनुसन्धानका क्रममा सुडीको सो अवधिको वैध आम्दानी ६ करोड ३ लाख ८५ हजार ३० रहेको देखिएको आयोगले जनाएको छ । तर, उनको नाममा सोही अवधिमा ९ करोड ७५ लाख ६९ हजार ५८१ बराबरको सम्पत्ति, खर्च तथा लगानी भेटिएको आयोगको भनाइ छ ।
वैध आम्दानीको तुलनामा अत्यधिक सम्पत्ति तथा खर्च देखिएपछि ३ करोड ७१ लाख ८४ हजार ५५१ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको निष्कर्षसहित आयोगले भ्रष्टाचार मुद्दा अघि बढाएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुडीकी पत्नी सुमीत्रादेवी साहलाई समेत प्रतिवादी कायम गरिएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का सम्बन्धित व्यवस्थाबमोजिम मुद्दा दायर गरेको जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal