• Menu

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो : उपराष्ट्रपति

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १४:०२

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताका छन् ।

अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८ औँ संस्करणको मंगलबार उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका हुन् ।

उपराष्ट्रपति यादवले भने, ‘नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।’

उनले जलविद्युतको धनी देश नेपालले पेट्रोलियम पदार्थको आयत घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे ।

उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताए ।

मुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो शो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राखे ।

नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य नाडाको हुनुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले वातावरणमैत्री र प्रविधिमैत्री नेपाल निर्माणका लागि ‘चार्जिङ स्टेशन’जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी हातेमालो गरेर अगाडि बढ्न सुझाव दिए ।

उपराष्ट्रपति यादवले अटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाएर आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल बढाउने ढंगबाट सरकारले कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

गत वर्ष अटोमोबाइल क्षेत्रबाट राज्यलाई ८१ अर्ब राजश्व योगदान गरेको जानकारी दिदै उनले मुलुकको कूल राजश्वको करिब आठ देखि नौ प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा मात्र हेरिनु नहुने धारणा व्यक्त गरे ।

अब आयातमा मात्र भर नपरी स्वदेशमै सवारीसाधन र पार्टपुर्जाको ‘एसेम्बलिङ’ र उत्पादन सुरु गर्नुपर्ने आवश्यकता औँल्याउदै अध्यक्ष श्रेष्ठले स्वदेशमै उत्पादनमूलक क्षेत्रको विकास गरी युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताए । उनले भने, ‘मुलुकको जनसंख्या र आर्थिक गतिविधि बढे पनि प्रदर्शनी केन्द्रको विकास हुन सकेको छैन, भृकुटीमण्डपको वर्तमान स्थलले ट्रक, बस र ठूला उपकरण प्रदर्शन गर्न पर्याप्त ठाउँ पुग्दैन, त्यसैले काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउनु अहिलेको आवश्यकता हो ।’

अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केबल सवारीसाधनको व्यापारका रूपमा मात्र नहेरी यसको बृहत् आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गरे ।

उनले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै चार्जिङ पूर्वाधार र नेपालमै ‘एसेम्बल’ उद्योगको विकासका लागि नीतिगत स्पष्टता र सहुलियत हुनुपर्ने बताए ।

नाडा स्थापना भएको ५० वर्षको अवसरमा ‘उद्योगदेखि रोजगार सम्म’ भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त मेला भदौ २४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।