
काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए।
उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिए।
नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्रा भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपाललाई अटोमोबाइलसम्बन्धी प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।
विश्वको अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट यातायात प्रणाली र डिजिटल प्रविधितर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालका व्यवसायीले विश्वव्यापी परिवर्तनलाई चुनौतीभन्दा अवसरका रूपमा लिनुपर्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले नेपालको उद्योग व्यवसाय क्षेत्र चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताए। बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल कमजोर बनेको उनको भनाइ छ।
‘मेरो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी व्यवसायीको यस्तो कमजोर मनस्थिति कहिल्यै देखेको थिइनँ,’ श्रेष्ठले भने।

उनले अर्थतन्त्रलाई पुनःसंरचना गर्नुपर्ने अवस्था रहेको भन्दै स्वदेशमै उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताए। आगामी १० वर्षपछि मुलुकले जनसांख्यिक लाभ प्राप्त गर्ने अवस्था नरहने भएकाले अहिले नै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ छ।
श्रेष्ठले अटोमोबाइल क्षेत्रमा स्पेयर पार्ट्स उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै नेपालमै त्यस्ता सामग्री उत्पादन गर्ने प्रयास अघि बढाउनुपर्ने बताए। निजी क्षेत्रले सरकारको उत्पादन र रोजगारी सिर्जनासम्बन्धी लक्ष्यमा साथ दिने उनले प्रतिबद्धता जनाए।
त्यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा हेर्न नहुने बताए। यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष रूपमा जोडिएको उनको भनाइ छ।
नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ भने राज्यको राजस्वमा वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान हुँदै आएको छ।

उप्रेतीले दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताए। करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे।
सवारीसाधनलाई अझै पनि विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ। बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार कर नीति थप व्यावहारिक तथा उपभोक्तामैत्री बनाउनुपर्ने उनले बताए।
काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्नुपर्ने आवश्यकतासमेत उप्रेतीले औँल्याए। उपत्यकाको जनसंख्या र आर्थिक गतिविधि बढ्दै गए पनि त्यसअनुसार प्रदर्शनी पूर्वाधार विकास हुन नसकेको उनले बताए।
भृकुटीमण्डपको विद्यमान संरचना पर्याप्त नभएको भन्दै उनले स्थान अभावका कारण ट्रक, बस तथा ठूला उपकरणलगायतका सामग्री पर्याप्त रूपमा प्रदर्शन गर्न नसकिएको बताए।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा भृकुटीमण्डप प्रदर्शनीस्थल स्तरोन्नतिको योजना अघि सारिएको उल्लेख गर्दै उप्रेतीले उक्त योजना शीघ्र कार्यान्वयन गरी अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थलका रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराए।
नाडाले विद्युतीय सवारीको बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ। स्वच्छ ऊर्जा, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार, सवारीसाधनको संयोजन तथा अटोमोबाइलका विभिन्न सामग्री उत्पादनमा भविष्यमा थप सम्भावना खोज्न सकिने नाडाको भनाइ छ।
यसका लागि सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको अध्यक्ष उप्रेतीले बताए।
स्वर्णजयन्ती विशेष नाडा अटो शोमा विभिन्न ब्रान्डका सवारीसाधन, विद्युतीय सवारी, मोटरसाइकल, सवारीसाधनका सामग्री तथा प्रविधिसम्बन्धी उत्पादन प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीले नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारी र लगानीका सम्भावनाबारे समेत छलफलको वातावरण बनाएको छ।

Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal