• Menu

आईसीटी फाउन्डेसनको आयोजनामा भदौ ११ गते ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’, ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’को विशेष प्रदर्शन

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार १७:३९

आईसीटी फाउन्डेसनको आयोजनामा भदौ ११ गते ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’, ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’को विशेष प्रदर्शन

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत् सम्मेलनका रूपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ को पाँचौँ संस्करण आगामी भदौ ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको छ ।

आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने सम्मेलनको मुख्य विषय ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ । सम्मेलनमा नेपालको डिजिटल रूपान्तरण, डिजिटल शासन, डेटा व्यवस्थापन तथा डिजिटल अर्थतन्त्रको विकासका विषयमा नीतिगत छलफल गरिने आयोजकले जनाएको छ ।

डिजिटल नेपालको डिजिटल रूपान्तरण र डिजिटल पारिस्थितिक प्रणाली विकासलाई मुख्य एजेन्डा बनाउँदै विगत पाँच वर्षदेखि कन्क्लेभ आयोजना हुँदै आएको छ । सरकारले सन् २०१९ मा सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कलाई आधार बनाएर सन् २०२० देखि डिजिटल संवाद तथा कन्क्लेभमार्फत डिजिटल रूपान्तरणका विषयमा बहस हुँदै आएको आयोजकको भनाइ छ ।

यस वर्षको सम्मेलनमा नयाँ सरकारले सुशासनलाई दिएको प्राथमिकता, डेटामा आधारित शासन प्रणाली तथा डिजिटल अर्थतन्त्रलाई विशेष रूपमा छलफलको विषय बनाइनेछ । सम्मेलनमा तीनभन्दा बढी मुख्य प्रस्तुति, पाँचवटा विषयगत प्यानल संवाद तथा एउटा शक्ति संवाद सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।

विभिन्न विषयका विज्ञहरूको प्रस्तुतिसँगै डिजिटल नेपालको विकासमा काम गरिरहेका १० भन्दा बढी नवीन प्रविधि तथा परियोजनाको प्रस्तुति ‘डिजिटल स्पार्क’ अन्तर्गत गरिनेछ । सम्मेलनमा केही अन्तर्राष्ट्रिय विज्ञसहित नेपाल सरकारका उच्च तहका प्रतिनिधि, प्रतिनिधिसभा सदस्य तथा मन्त्रीहरूको सहभागिता रहनेछ । कार्यक्रममा ५ सयभन्दा बढीको प्रत्यक्ष सहभागिता हुने अपेक्षा गरिएको छ ।

आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालका अनुसार डिजिटल नेपाल निर्माणको सरकारी योजनामा निजी क्षेत्र, सरकार तथा अन्तर्राष्ट्रिय निकायलाई एउटै मञ्चमा ल्याएर नीतिगत सुधार र कार्यान्वयनका विषयमा छलफल गर्नु सम्मेलनको मुख्य उद्देश्य हो । डिजिटल पारिस्थितिक प्रणाली निर्माणमा सरकारी तथा निजी क्षेत्रबाट भइरहेका प्रयास, प्रविधि र नवीनतालाई समेत अभियानसँग जोड्ने प्रयास गरिएको उनले बताए ।

यस वर्ष नेपालमै विकास गरिएका ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’ले सम्मेलनमा विशेष सहकार्य गरेका छन् । कार्यक्रममा यी प्रविधिसहित २० भन्दा बढी नेपाली प्रविधि प्रदर्शनीमा राखिनेछन् । सहभागीले कृत्रिम बौद्धिकतामा आधारित प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्ने गरी टिङटिङ ओम्नी लाइभ इन्टर्याक्सन, टिङटिङ आउटबाउन्ड तथा टिङटिङ रेस्पोन्सिभ एजेन्टको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

अनलाइन यात्रा टिकट मञ्च ‘सस्तो टिकट’ र वित्तीय प्रविधि कम्पनी ‘फोनपे’ सम्मेलनका मुख्य सहकार्यकर्ता रहेका छन् । त्यस्तै न्यास आईटी, क्यान महासंघ, एनसेल बिजनेस, स्काई आईटी, कताहो, एती क्लाउड, डिसहोम, नासा एक्स, रि-सेक्युरिटी, कोड एक्स स्कुल, नेपाल टेलिकम तथा ग्लोबल स्पार्कलगायत संस्थाको सहकार्य र सहयोग रहेको आयोजकले जनाएको छ ।

सम्मेलनका छलफल मुख्यतः तीन रणनीतिक विषयमा केन्द्रित हुनेछन् । पहिलो सत्रमा शासन तथा डिजिटल सार्वजनिक पूर्वाधार अन्तर्गत संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल परिचयपत्र, नीतिगत नवीनता तथा डेटामा आधारित निर्णय प्रक्रियाबारे छलफल हुनेछ ।

दोस्रो सत्रमा डेटा, कृत्रिम बौद्धिकता तथा साइबर सुरक्षा का विषयमा राष्ट्रिय डेटा सार्वभौमिकता, कृत्रिम बौद्धिकताको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल विश्वास तथा विभिन्न क्षेत्रबीच डेटा आदानप्रदानका विषयमा बहस गरिनेछ ।

त्यस्तै तेस्रो सत्रमा डिजिटल अर्थतन्त्र तथा नवीनता अन्तर्गत डिजिटल रूपान्तरणका लागि लगानीका सम्भावना र भविष्यमा आवश्यक डिजिटल जनशक्तिका विषयमा छलफल हुनेछ । अन्तिम सत्र भने डिजिटल नेतृत्व तथा रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धतामा केन्द्रित रहनेछ ।

डिजिटल नेपाल कन्क्लेभ २०२६ ले सरकार, नीति निर्माता, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याउने आयोजकको अपेक्षा छ । सम्मेलनमार्फत नेपालको डिजिटल भविष्यका लागि नीतिगत संवाद, ज्ञान आदान–प्रदान, लगानीका सम्भावना तथा रणनीतिक सहकार्यलाई थप बलियो बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुकले आयोजकको आधिकारिक वेबसाइटमार्फत टिकट खरिद गर्न सक्नेछन् ।