• Menu

शशीला मोटर्सले भित्र्यायो फराइजन ‘भी७ई’, १२ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने इभी भ्यान

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १६:०२

शशीला मोटर्सले भित्र्यायो फराइजन ‘भी७ई’, १२ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने इभी भ्यान

काठमाडौं । नाडा अटो शो २०२६ मा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले १३ सिट क्षमताको भी७ई विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार फराइजन भी७ई नेपाली बजारमा उपलब्ध भ्यानमध्ये धेरै सुविधासहितको मोडल हो। जिली र सीएटीएलको सहकार्यमा विकसित २सी अर्थात् तियानसिङ सिरिज प्रविधिमा आधारित ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री भ्यानमा प्रयोग गरिएको छ।

जीएक्सए-एम विद्युतीय प्लेटफर्ममा निर्माण गरिएको भ्यान सुरक्षित र आरामदायी रहेको कम्पनीको दाबी छ। विद्युतीय प्लेटफर्ममा निर्माण भएकाले नेपालको असमान तथा खाल्डाखुल्डी सडकमा समेत ब्याट्री सुरक्षित रहने कम्पनीले जनाएको छ।

नयाँ ब्याट्री प्रविधिका कारण ब्याट्रीको आयु लामो हुनुका साथै छिटो चार्ज हुने र बढी दूरी तय गर्न सकिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार भ्यानको ब्याट्री १२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

१३ सिट क्षमताको भी७ईमा ३६० डिग्री क्यामेरा, अटो होल्ड, चाबीबिनाको प्रवेश तथा स्टार्ट प्रणाली, एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता सुविधा उपलब्ध छन्।

भ्यानमा १२.३ इन्चको टचस्क्रिन र ७ इन्चको पूर्ण एलसीडी उपकरण पटल राखिएको छ। चालक तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अगाडिका दुईवटा एयरब्याग, वर्षा पहिचान गर्ने वाइपर, स्वचालित हेडलाइट र उकालोमा सवारी रोक्ने नियन्त्रण प्रणालीलगायतका सुविधा पनि उपलब्ध छन्।

कम्पनीले भी७ई विद्युतीय भ्यानले नेपाली बजारमा यात्रुवाहक तथा व्यावसायिक विद्युतीय सवारीको विकल्प विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।

नाडा अटो शोमा नयाँ विद्युतीय भ्यान सार्वजनिक भएसँगै नेपालमा व्यावसायिक तथा यात्रुवाहक सवारीमा विद्युतीय प्रविधिको प्रयोग थप विस्तार हुने अपेक्षा गरिएको छ।