• Menu

नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक, ब्याट्रीमा १० वर्षको वारेन्टी

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १६:०५

नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक, ब्याट्रीमा १० वर्षको वारेन्टी

काठमाडौं । नाडा अटो शो २०२६ को पहिलो दिन मंगलबार हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले ३१ सिट क्षमताको उक्त विद्युतीय कोच सार्वजनिक गरेको हो ।

हाइगर भी सिरिज प्रिमियम ईभी कोचमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गरेपछि बसले ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

बसमा २७० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ। ब्याट्रीमा १० वर्ष वा १० लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपालमा भित्रिएका व्यावसायिक सवारीसाधनमध्ये यो सबैभन्दा लामो ब्याट्री वारेन्टी हो ।

यात्रुको आराम र सुरक्षालाई ध्यानमा राख्दै बसमा डबल एयर सस्पेन्सन, अगाडि तथा पछाडि डिस्क ब्रेक, एबीएस र ईबीडी प्रणाली जडान गरिएको छ। यात्रुको सुविधाका लागि उच्च गुणस्तरको वातानुकूलित प्रणाली तथा हिटरको व्यवस्था गरिएको छ ।

चालकका लागि अटो एडजस्टेबल एयर सस्पेन्डेड सिट राखिएको छ। चालकको दृश्य सहज बनाउन र ब्लाइन्ड स्पट न्यून हुने गरी बसको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

नेपाल सरकारले सार्वजनिक यातायातमा अनिवार्य गर्न लागेको सीसीटीभी क्यामेरा र जीपीएस प्रणालीसमेत बसमै जडान भएर आउने बताइएको छ। यसले यात्रुको सुरक्षा तथा सवारीसाधनको निगरानीमा थप सहजता पुग्ने कम्पनीको दाबी छ ।

शशीला मोटर्सका सहायक महाप्रबन्धक प्रद्युम्न केसीले लामो दूरीमा सञ्चालन हुने विभिन्न आकार र क्षमताका प्रिमियम कोचसँगै सहरी यातायातका लागि ८ देखि १४ मिटरसम्मका सिटी बस पनि उपलब्ध रहेको जानकारी दिए ।

ग्राहकको आवश्यकता र सञ्चालनको प्रकृतिअनुसार बसलाई अनुकूलन गर्न सकिने उनले बताए। डिजेल बसको तुलनामा विद्युतीय बसबाट हुने आम्दानी तीन गुणासम्म बढी हुन सक्ने उनको दाबी छ ।

कम्पनीका सहायक निर्देशक दिवसबाबु सुवेदीले बिक्रीपछिको सेवाका लागि आवश्यक जनशक्ति तथा स्पेयर पार्ट्सको व्यवस्था गरिसकेको बताए। बस खरिदकर्ता तथा सञ्चालकका लागि समर्पित हटलाइन सेवा पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

कम्पनीले बससम्बन्धी सेवा तथा सहयोगका लागि ९७१४५८८३३८ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको जनाएको छ ।

ट्राभल्स तथा टुर्स व्यवसायीको रोजाइमा पर्दै आएका हाइगर ब्रान्डका बस नेपालमा १८ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । प्रिमियम विद्युतीय कोच सार्वजनिक भएसँगै लामो दूरी तथा व्यावसायिक सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग थप विस्तार हुने अपेक्षा गरिएको छ।