• Menu

अन्नबालीमा वन्यजन्तुको आतंक : पाल्पाका किसानको भरपर्दो विकल्प बन्यो टिमुरखेती

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १७:४१

अन्नबालीमा वन्यजन्तुको आतंक : पाल्पाका किसानको भरपर्दो विकल्प बन्यो टिमुरखेती

पाल्पा । पाल्पाका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।

टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताए ।

यहाँका धेरैजसो किसानले बारीभरि टिमुर लगाएको जानकारी दिए । ‘यहाँ सबैजसो बारी र बाँझो जमिनमा टिमुर छ, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ,’ सारुले भने । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाई छ ।

रिब्दीकोट गाउँपालिका-ढुस्टुङका तारा बगालेले पनि व्यावसायिक रुपमा टिमुरखेती गरेकी छन् । टिमुरखेतीमा वन्यजन्तुले खासै क्षति नपुर्‍याउने, धेरै मेहनत नपर्ने र उत्पादनपछि बजार पाउन सहज हुने भएकाले अन्नबालीको विकल्पका टिमुरखेती रोजेको उनको भनाइ छ ।

पहिले मकैखेती लगाउँदै आएका उनले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएकी छन् । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुरखेती गर्न थालेको उनी बताउँछिन् ।

बगाले भन्छिन्, ‘हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहनत गरेर लगाएको बाली स्याहार्ने बेलामा आएर बन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएको हुँ ।’ टिमुरबाट राम्रो आम्दानीसमेत हुने उनको भनाइ छ ।

निस्दी गाउँपालिका-ज्यामिरेका कर्णबहादुर सोतीले पनि डिभिजन वन कार्यालयबाट गत वर्ष २० वटा बिरुवा लिएर अहिले खेती थालैका छन् । लगाएको अन्नवाली वन्यजन्तुले खाइदिएर हैरान बनाएपछि अहिले टिमुरखेती गर्न लागेको उनी बताउँछन् ।

रैनादेवी छहराका धर्व बहादुर रानाले पहिला-पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे । जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो तब बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उनी बताउँछन् ।

राना भन्नुहुन्छ, ‘वन्यजन्तुको आतंकले अन्नबाली लगाउन सकेनौँ, अहिले हामीले टिमुरखेती गरेका छौँ । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजार बढी किसानलाई फाइदा पुगेको छ । असारको अन्तिम सातादेखि असोज-कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङकले पाल्पाका किसान टिमुरखेतीप्रतिको आकर्षित भइरहेको बताए । पाल्पाको भौगोलिक बनोट र हावापानी टिमुर खेतीका लागि अत्यन्तै उपयोगी रहेको छ । नेपाल सरकारले टिमुरलाई जडीबुटी प्रजातिमध्ये एक प्रमुख बाली मानेको छ ।

टिमुरसहित १२ जडीबुटी प्रजातिलाई खेती प्रविधि अनुसन्धानका लागि प्राथमिकतामा राखिएपछि किसानको आकर्षण बढेको तामाङ बताउँछन् । डिभिजन वन कार्यालयले विगत तीन वर्षदेखि टिमुरलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न पहल गरिरहेको छ ।

वन कार्यालयले टिमुरखेती गर्न चाहने किसानलाई बिरुवा उपलब्ध गराउँदै आएको छ । स्थानीयस्तरमै पर्याप्त बिरुवा उत्पादन गर्न नसकिएपछि पश्चिम नेपालका अन्य जिल्लाबाट बिरुवा ल्याएर किसानलाई वितरण गर्ने गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले पहिलो वर्ष १० हजार बिरुवा वितरण गरेको थियो । त्यसपछिको आर्थिक वर्षमा किसानको मागअनुसार २० हजार बिरुवा वितरण गर्दै आएको छ । पछिल्लो समय किसानको मागअनुसार बिरुवा उपलब्ध गराउनसमेत कठिन हुन थालेको सूचना अधिकारी तामाङ बताउँछन् ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार पाल्पाको अधिकांश भू-भागमा टिमुर खेतीको सम्भावना छ । अग्लो तथा ओसिलो स्थानमा समेत खेती गर्न सकिने भएकाले जिल्लाका विभिन्न क्षेत्रमा यसको विस्तार गर्न सकिने उनी बताउँछन् ।

‘अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुरखेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ,’ श्रेष्ठ भन्छन् । उनका अनुसार एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौंसम्म त्यसबाट आम्दानी लिन सकिन्छ । यही कारण वन्यजन्तुको समस्या भएका क्षेत्रमा टिमुर किसानका लागि वैकल्पिक खेतीका रूपमा स्थापित हुँदै गएको छ ।

एकातिर बाँदर र बदेलको आतंकबाट अन्नबाली जोगाउन किसानलाई चुनौती थपिँदै गएको छ भने अर्कोतिर टिमुरले त्यही चुनौतीलाई अवसरमा बदल्ने बाटो देखाएको छ । वन्यजन्तुले अन्नबाली खोस्दै गर्दा किसानले भने टिमुरमार्फत सुरक्षित खेती र आम्दानीको नयाँ बाटो रोजेका छन् ।