
काठमाडौं । नयाँ बानेश्वरबाट थापागाउँ जाने चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि भएको हातपातको घटनाप्रति नयाँ बानेश्वर व्यापार व्यवसायी संघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सडकमा शान्ति, सुरक्षा तथा ट्राफिक व्यवस्थापन कायम गर्ने जिम्मेवारीमा खटिएका सुरक्षाकर्मीमाथि हातपात, दुर्व्यवहार वा कार्यसम्पादनमा अवरोध गर्नु निन्दनीय भएको संघले जनाएको छ । यस्ता घटनाले कानुनको शासन, सार्वजनिक सुरक्षा तथा बानेश्वर क्षेत्रको शान्तिपूर्ण व्यावसायिक वातावरणमा समेत नकारात्मक असर पार्न सक्ने संघको भनाइ छ ।
संघले कानुनको पूर्ण पालना, सार्वजनिक सुरक्षाको सम्मान तथा सभ्य र अनुशासित व्यवहारको पक्षमा आफूहरू रहेको स्पष्ट पारेको छ । घटनाको निष्पक्ष छानबिन गरी वास्तविक तथ्य बाहिर ल्याउन र दोषी ठहर हुने व्यक्तिमाथि प्रचलित कानुन अनुसार आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
ट्राफिक व्यवस्थापनका क्रममा व्यवसायी, स्थानीय बासिन्दा, पैदलयात्री तथा सुरक्षाकर्मीबीच आपसी सम्मान, संयम र सहकार्य कायम गर्न संघले सबै पक्षलाई अपिल गरेको छ ।
नयाँ बानेश्वरलाई सुरक्षित, व्यवस्थित, शान्तिपूर्ण तथा व्यवसायमैत्री क्षेत्रका रूपमा विकास गर्न सुरक्षा निकाय र स्थानीय समुदायसँग आवश्यक सहकार्य गर्न संघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal