
रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई शपथ गराएका हुन्।
शपथ लिने तीनै जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हुन्। दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
शपथ ग्रहण समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका उच्च अधिकारी तथा अन्य व्यक्तिहरूको उपस्थिति थियो।
साउन १२ गते नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यको प्रक्रिया अघि बढेको थियो। सोहीअनुसार प्रदेश सरकार पुनर्गठन गरिएको हो।
सरकार पुनर्गठनसँगै मन्त्रिपरिषद्का केही सदस्यको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
वर्तमान सत्ता समीकरणअनुसार नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताइएको छ।
तीन जना नयाँ मन्त्रीले शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदार दलबीच भएको सहमतिअनुसार मन्त्रालय बाँडफाँट र जिम्मेवारी हेरफेरको प्रक्रिया अघि बढेको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal