• Menu

एनसेल ग्राहकलाई मेडिसिटी अस्पतालमा विशेष छुट र निःशुल्क चिकित्सक परामर्श सुविधा

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार १७:०४

एनसेल ग्राहकलाई मेडिसिटी अस्पतालमा विशेष छुट र निःशुल्क चिकित्सक परामर्श सुविधा

काठमाडौं । एनसेलका ग्राहकलाई सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी भएको छ।

साझेदारीअनुसार रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन पाउनेछन् । त्यस्तै, ९९ देखि २९९ सम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् ।

मंगलबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत दत्ताले साझेदारीमार्फत ग्राहकलाई मोबाइल कनेक्टिभिटीसँगै स्वास्थ्य सेवामा समेत थप सुविधा उपलब्ध गराउन खोजिएको बताए। उनले ग्राहकलाई लाभ प्रदान गर्ने एनसेलको प्रतिबद्धताको निरन्तरताका रूपमा यस सहकार्यलाई लिइएको बताए ।

सुविधा लिन योग्य ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ। त्यसपछि एपमै ग्राहकले पाउने सुविधाको विवरण देखिनेछ। सुविधा लिन योग्य नभएका ग्राहकले तोकिएको प्याक वा रेन्टल सेवा लिएपछि उक्त लाभ लिन सक्नेछन् ।

नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता साझेदारीले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले निजी क्षेत्रका कम्पनी र स्वास्थ्य संस्थाबीचको सहकार्यबाट गुणस्तरीय स्वास्थ्य सेवा थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सकिने धारणा व्यक्त गरे ।

एनसेलले विश्वसनीय स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवा प्रदायकसँगको साझेदारीमार्फत ग्राहकलाई दैनिक जीवनसँग सम्बन्धित थप उपयोगी सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो पहललाई निरन्तरता दिइरहेको जनाएको छ ।