काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाली सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९.०८ विन्दुमा झरेको छ । यससँगै नेप्से पुनः २६ सय विन्दुभन्दा तल पुगेको हो ।
आइतबार पनि बजार १०.६७ अंकले ओरालो लागेको थियो । लगातार दोस्रो दिन बजार घटेसँगै कारोबार रकमसमेत खुम्चिएको छ । आइतबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम घटेर ३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ ।
सोमबार कारोबार भएका २७८ कम्पनीमध्ये ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको मूल्य भने स्थिर रह्यो ।
बजारका सबै समूहगत सूचक राताम्य भएका छन् । जलविद्युत समूहमा सबैभन्दा बढी १.१९ प्रतिशतको गिरावट आएको छ । निर्जीवन बिमा समूह १.१२ प्रतिशतले घटेको छ ।
त्यस्तै जीवन बिमा समूह ०.८१, वित्त ०.८०, अन्य ०.७८, बैंकिङ ०.६७, व्यापार ०.५०, लघुवित्त ०.५३, विकास बैंक ०.४७, उत्पादन तथा प्रशोधन ०.४६ र लगानी समूह ०.४१ प्रतिशतले घटेका छन् । होटल तथा पर्यटन समूहमा भने ०.०१ प्रतिशतको सामान्य गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा जलविद्युत समूह अग्रस्थानमा रह्यो । उक्त समूहका कम्पनीको कुल १ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूहको ३२ करोड तथा वाणिज्य बैंक समूहको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । धौलागिरि लघुवित्त ११.९८, सीवाईसी लघुवित्त ९.१४ र सयपत्री हाइड्रोपावर ६.२७ प्रतिशतले बढेका छन् । हाथवे इन्भेस्टमेन्ट र खानीखोला हाइड्रोपावरको मूल्य पनि समान ३.३३ प्रतिशतले उकालो लागेको छ ।
यता पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.८३ प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्त ८.६७ र माउन्ट एभरेस्ट पावर ७.७६ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सेल डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर अगाडि रहे ।